काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् ।
उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था खर्चेर बनेको पार्टी भएकाले केवल निर्वाचन हार्दैमा यसको भविष्य समाप्त नहुने बताएका छन् ।
उनले भनेका छन्- ' राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।'
उनका अनुसार पार्टीले चुनाव हार्नु अलग कुरा भए पनि अस्तित्व समाप्त हुने विषय होइन ।
लिङदेनले राप्रपा आफ्नो मूल अवधारणाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनले अभिभावकीय राजसंस्था, सनातन धर्ममा आधारित हिन्दू राष्ट्र तथा प्रशासनिक रूपमा झन्झटिलो र बोझिलो प्रदेश संरचनाको पुनरावलोकनसम्बन्धी धारणा यथावत रहने बताए ।
उनले पार्टीभित्र भएका कमजोरी सुधार्दै राप्रपा पुनर्गठन गरेर फेरि सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन् ।









