काठमाडौँ । होर्मुज जलडमरु हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेर आएका दुई जहाजमाथि इरानले गोली चलाएको छ ।
समाचार संस्था पीटीआईका अनुसार भारत आउँदै गरेका १४ वटा जहाजलाई इरानको रिभोल्युशनरी गार्डले होर्मुज जलडमरु पार गर्न रोकेको थियो ।
गोलीबारीपछि १३ वटा जहाज फारसको खाडीमा विभिन्न स्थानमा फर्किएका छन् । एक जहाजमा गोली लागेको छ भने एउटा जहाज भने जलडमरु पार गर्न सफल भएको जनाइएको छ ।
घटनापछि भारतको परराष्ट्र मन्त्रालयले भारतस्थित इरानी राजदूत डा. मोहम्मद फतहअलीलाई समन गर्दै विरोध जनाएको छ ।
मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानले यसअघि भारतीय जहाजलाई सुरक्षित मार्ग दिँदै आएको उल्लेख गर्दै यथाशीघ्र जहाजको आवागमन पुनः सुरु गराउन आग्रह गरिएको छ ।
यसअघि इरानले होर्मुज जलडमरु बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो निर्णय लिएको बताइएको छ, तर २४ घण्टाभित्रै आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ ।









