काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पद बहाली गरेका छन् ।
बुधवार बिहान भट्टले सिंहदरबारस्थित राष्ट्रिय युजना आयोगको कार्यालयमा पदबहाली गरेका हुन् । भट्टलाई सो क्रममा आयोगका सचिवसहित कमर्चारीहरुले स्वागत गरेका थिए ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

डा. भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । त्यस्तै त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका भट्टको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन् ।
भट्टले यसअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट सात वर्षे कार्यकाल पूरा गर्दै अनिवार्य अवकाश पाएका थिए ।









