• २०८२ चैत २१ शनिबार

सैयारा फेम अभिनेता अहान पाण्डेको दोस्रो फिल्मको घोषणा

kharibot

काठमाडौँ । सैयारा फेम अभिनेता अहान पाण्डेको नयाँ फिल्मको घोषणा भएको छ ।

चर्चित निर्देशक अली अब्बास जफरको नयाँ फिल्ममा आहानको प्रमुख भूमिका हुने भएको हो । एक्सन फिल्म बनाउने पहिचान बनाएका जफरले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् । सार्वजनिक झलकसँगै यो फिल्मलाई आउँदै गरेको बहुप्रतीक्षित परियोजनामध्ये एकका रूपमा हेरिएको छ ।

पहिलो फिल्म 'सैयारा' सुपरहिट भएपछि अहानलाई बलिवुडमा नयाँ सुपरस्टारको रुपमा हेरिएको छ । नयाँ झलकमा उनी गम्भीर र रहस्यमय शैलीमा प्रस्तुत भएका छन् । धमिलो पृष्ठभूमि र तेज नजरले उनको चरित्रमा मनोवैज्ञानिक गहिराइ झल्काएको छ । झलकमा प्रयोग गरिएको मधुरो प्रकाश र न्यानो रंगले कथा भावनात्मक द्वन्द्व र उच्च जोखिमपूर्ण अवस्थातर्फ केन्द्रित हुने संकेत गर्छ । प्रेम र द्वन्द्वलाई सँगसँगै अगाडि बढाउने शैली निर्देशक जफरको पहिचान रहँदै आएको छ, जसले अहानलाई आफ्नो अभिनय दायरा विस्तार गर्ने अवसर दिन सक्ने देखिन्छ ।

‘सैयारा’ प्रेमकथामा आधारित भए पनि नयाँ चलचित्रमा प्रेमसँगै पर्याप्त द्वन्द्व र गतिशील दृश्यहरू रहने जनाइएको छ । जफरको पछिल्लो चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ ले अपेक्षाअनुसार सफलता नपाएपछि यो परियोजना उनको लागि पनि महत्वपूर्ण मानिएको छ ।

नाम नखुलाइएको यो चलचित्रको छायांकन पनि सुरु भएको छ । मुख्य अभिनेत्री र आधिकारिक नाम भने चाँडै सार्वजनिक गरिने बताइएको छ । चलचित्रको छायांकन मुम्बईसहित विभिन्न विदेशी स्थानमा हुने तयारी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै