काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पर्वतारोहण-ट्रेकिङ क्षेत्रमा भएको 'फेक रेस्क्यू' प्रकरणमा संलग्न थप एक जना ट्रेकिङ कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्यानारोमा हिमालय ट्रेकिङ एण्ड एक्सपेडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा रहेका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-१ का शेर्पाको कम्पनीले उच्च हिमाली क्षेत्रमा ट्रेकिङ गर्ने क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरुको उद्धार गरेको देखाएर बीमा रकम दाबी गरी गैरकानूनी आर्थिक लाभ लिएको आरोप लागेको छ ।
अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यू सर्भिस प्रालि, एभरेष्ट एक्स्पेरियन्स एण्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालिलगायत कम्पनीहरूले सरकारी अभिलेख, विमानस्थल र नागरिक उड्डयन प्राधिकरणका कागजातमा पनि फेरबदल गरी आफ्नो बिल र इन्भोइस बनाएको पाइएको सीआइबीले उल्लेख गरेको छ ।
उद्धार गरिएको भनिएका पर्यटकहरुलाई अस्पताल भर्ना गरेर उपचार बिल तथा मेडिकल रिपोर्ट तयार गराई बीमा रकम दाबी गरिएको भेटिएको छ ।
जाँच अनुसार सन् २०२५ मा दुई जना विदेशी नागरिकले सगरमाथा बेसक्याम्प ट्रेकिङ गर्ने क्रममा गाईड र कम्पनीको स्वीकृति बिना हेलिकप्टर मार्फत काठमाडौं ल्याई अस्पताल भर्ना गराइएको र रेस्क्यू तथा स्वास्थ्य बीमा रकम दाबी गरिएको उजुरी पाइएको सिआईबीले जनाएको छ ।
यस विषयमा राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र नेपालको पर्यटन छवि हानि हुने भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम) र संगठित अपराध निवारण ऐन, २०७० अनुसार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सिआईबीले उल्लेख गरेको छ ।
हालसम्म ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमा कम्पनीका नेपाल स्थित एजेन्ट र हेलिकप्टर कम्पनीका शेयरधनी सहित जम्मा १० जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।









