काठमाडौँ । बलिउडमा आफ्ना कमेडी भूमिकामार्फत दर्शकलाई हसाउँदै आएका अभिनेता राजपाल यादव यतिबेला गम्भीर कानुनी समस्यामा फसेका छन् । चेक बाउन्ससम्बन्धी मुद्दामा अदालतको आदेशपछि उनले तिहाड जेलमा सरेंडर गरेका छन् ।
यसैबीच फिल्म उद्योगबाट राजपाल यादवको पक्षमा समर्थनका स्वर पनि उठ्न थालेका छन् । अभिनेता सोनु सूद राजपाल यादवलाई सहयोग गर्न अगाडी आएका छन् । उनले भनेका छन्- ' राजपाल यादव प्रतिभाशाली कलाकार हुन्, जसले उद्योगलाई वर्षौंसम्म अविस्मरणीय योगदान दिएका छन् । कहिलेकाहीँ जीवन प्रतिभाका कारण होइन, समयको कठोरताका कारण अन्यायपूर्ण बन्छ । उनी मेरो फिल्मको हिस्सा हुनेछन् । सानो साइनिङ रकम दया होइन, सम्मान हो । कठिन समयमा उद्योगले आफ्ना सदस्य एक्ला छैनन् भन्ने अनुभूति गराउनुपर्छ ।'
सरेन्डर गर्नु अघि राजपाल यादव अदालतमा दिएको भावुक बयान अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भएको छ । मिडिया रिपोर्टअनुसार सरेंडर गर्नुअघि राजपाल यादवले भनेका थिए- ' म के गरू ? मसँग पैसा छैन । अरू कुनै उपाय देखिँदैन । यहाँ हामी सबै एक्लै छौँ, कोही साथी छैन । यो कठिन समयको सामना म आफैंले गर्नुपर्छ ।'
अदालतले फेब्रुअरी २ मा राजपाल यादवलाई सरेंडर गर्न निर्देशन दिएको थियो । उनका वकिलले अदालतमा अभिनेता ५० लाख रुपैयाँको व्यवस्था गरिसकेको र बाँकी रकम तिर्नका लागि थप एक हप्ताको समय मागेका थिए । तर न्यायाधीशले समय थप गर्ने उनको निवेदन अस्वीकार गरेका थिए । त्यसपछि गत बिहीबार राजपाल यादवले तिहाड जेलमा सरेंडर गरेका थिए ।
राजपाल यादवले ‘मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड’ नामक कम्पनीबाट फिल्म बनाउन करिब ५ करोड रुपैयाँ ऋण लिएका थिए । कम्पनीका अनुसार अभिनेता फिल्म निर्माणका लागि लिएको रकम फिर्ता गर्न भन्दै दिएका विभिन्न चेकहरू बाउन्स भएका थिए । त्यसपछि कम्पनीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेको थियो ।
अदालतले राजपाल यादवलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो । पछि उच्च अदालतले सर्तसहित सजाय अस्थायी रूपमा रोक लगाएको थियो, जसअनुसार उनले कम्पनीलाई रकम फिर्ता गर्नुपर्ने थियो । तर पटक–पटक अदालतमा प्रतिबद्धता जनाए पनि उनले रकम नतिरेपछि अदालतले उनको व्यवहारलाई गैरजिम्मेवार र अदालतको विश्वास तोड्ने खालको भएको टिप्पणी गरेको छ ।









