• २०८३ बैशाख ५ शनिबार

फेक रेस्क्यु गर्ने ६ जना पक्राउ

फेक रेस्क्यु गर्ने ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेक रेस्क्यु प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन् । पक्राउ परेका जयराम र विवेक माउन्टेन रेस्क्यु सर्भिसका, नेपाल चार्टर सर्भिस प्रालिका रविन्द्र अधिकारी र विवेकराज थपलिया, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिका मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । 

उनीहरूमाथि राष्ट्रहित कसुर, आपराधिक लाभको कसुर, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।  सीआईबीले माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।  सीआईबी प्रमुख मनोज केसीले फेक रेस्क्युमा नक्कली कारोबार गर्ने र पर्यटक ठगीमा संलग्नहरूलाई पक्राउ गरिएको बताए ।  

केसीले भने- 'पक्राउ परेका व्यक्तिकै संलग्नतामा पर्यटकलाई उद्धारको बहानामा फेक रेस्क्यु गर्नु, नियोजित रूपमा एउटै अस्पतालमा उपचारका लागि लैजानु, ट्राभल एजेन्सी र हेलिकोप्टर कम्पनीहरूको मिलेमतोमा बीमा दाबी गर्नकै लागि फेक बिरामी बनाउने लगायतका कार्य गर्दै आएका थिए ।’

फेक रेस्क्यु प्रकरण आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सीआईबीले सघन अनुसन्धान गरेको थियो । उनले साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान गरिएको जानकारी दिएका थिए ।

अनुसन्धानका क्रममा उनीहरूले फेक र नक्कली कागजात बनाएर बीमा दाबी गरी करोडौं ठगी गर्ने गरेको खुलेको छ। माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको छ । त्यस्तै नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना रेस्क्यु गर्दा ७५ जनाको फेक रेस्क्यु गरेको खुलेको छ । उनीहरूले ८२ लाख डलर माग दाबी गरेको अनुसन्धानमा खुलेको छ । एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ पर्यटकको शंकास्पद रेस्क्यु गरेको पाइएको हो । उनीहरूले यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको अनुसन्धानमा खुलेको सीआईबीले उल्लेख गरेको छ । यसरी फेक रेस्क्युबाट करोडौँको बीमा दाबी गरेको प्रमाण प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको बताएको  छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै