काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । त्यस्तै परानका हालसम्म एक लाख २८ हजार ६७९ टिकट बिक्रि भएका छन् ।
बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित फिल्म 'परान' ले हलमा दर्शकलाई तानिरहेको छ । दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ ।
त्यस्तै अनमोल केसीको फिल्म 'जेरी अन टप' घरेलु बक्स अफिसमा यस बर्ष धेरै कमाई गर्ने फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक २२ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर ११ करोड ७१ लाख ४१ हजार ४९८ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ७५ हजार ८१ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ ।
त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ५६ लाख ५७ हजार ९२९ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ४ लाख २९ हजार २८८ र फिल्म सोल्टिनीले २९ लाख ५ हजार ९५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ ।









