• २०८२ कार्तिक २६ बुधबार

गत वर्षको बाढी र यस वर्षको तयारी: सोच र व्यवस्थापनको रूपान्तरण

kharibot

नेपालमा हरेक वर्ष जस्तै यस वर्ष पनि अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोको जोखिम बढेको छ । तर यो वर्षको अवस्थाले गत वर्षको तुलनामा फरक तस्वीर देखाएको छ- संकट त उस्तै छ, तर व्यवस्थापनमा सुधार देखिन थालेको छ । गत वर्ष २०८१ को मनसुनमा देशभर २५० भन्दा बढी मानिसले ज्यान गुमाए ।

गृह मन्त्रालयका तथ्यांक अनुसार, बाढी–पहिरो र डुबानका घटनाबाट ३२ जिल्ला बढी प्रभावित भएका थिए, ५,००० भन्दा बढी घर  विस्थापित भएका थिए र  ४० अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति क्षति भएको थियो । धेरै स्थानमा तत्काल उद्धार कार्य ढिलो हुँदा मानवीय क्षति अझ बढेको थियो ।

यस वर्ष २०८२ को मनसुनमा पनि वर्षा उस्तै तीव्र रह्यो । नेपाल जल तथा मौसम पूर्वानुमान विभागका अनुसार यो वर्षको मनसुनको औसत वर्षा गत वर्षभन्दा ३ प्रतिशत बढी थियो । तर, सरकारको सक्रियता र सचेतनाले प्रभाव घटाएको देखिन् छ । सरकारको असोज १८ र १९ मा मानवीय क्षति ४९ जना तथा अझै बढ्ने सम्भावना भएको जनाएको छ, जुन गत वर्षको तुलनामा धेरै कम हो ।

नेपालमा २०८१ आश्विन १० देखि  १३ गतेसम्म परेको अविरल बर्षाले बागमती प्रदेशमा धेरै ठूलो क्षति पुरयाएको थियो । उक्त  बाढी र पहिरोबाट बागमती प्रदेशमामात्र  २१६ जनाले ज्यान गुमाएका थिए जसमा सबैभन्दा धेरै ७९ जनाको मृत्यु काभ्रपेलाञ्चोक जिल्लामा भएको थियो  । त्यसैगरी १६८ जना घाइते र १४ जना बपेत्ता भएका थिए । विपद्मा परेका कुल १६ हजार ७७९ जना ब्यक्तिहरुलाई उद्धार गरिएको थियो । बागमती प्रदेश नीति तथा योजना आयोगद्वारा निर्माण गरिएको प्रतिबेदन अनुसार उक्त मनसुन जन्य घटनाबाट १० अर्ब ९९ करोड ६४ लाख बराबरको क्षति भएको थियो  ।

सरकारले यस वर्ष मनसुन सुरु हुनु अघि नै बिपत पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लागू गरेको थियो । यस अन्तर्गत प्रत्येक जिल्ला प्रशासन कार्यालयमा तत्कालीन ‘र्यापिड रेस्पोन्स टीम’ गठन, प्रहरी र सेनाको सहकार्यमा ड्रोनमार्फत जोखिम मूल्यांकन, र एसएमएस चेतावनी प्रणाली प्रयोगमा ल्याइएको छ। यसका साथै, बाढी सम्भावित क्षेत्रका परिवारलाई पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

गत वर्ष टहरोको छतमा बसेर घण्टौं उद्धारको प्रतीक्षा गरेका नागरिकहरूको पीडा अझै ताजा छ । त्यतिबेला सरकारको ढिलासुस्ती, निर्देशनको अभाव र कर्मचारीतन्त्रको अकर्मण्यता मुख्य कारण बनेका थिए । तर, यो वर्ष उही स्तरको वर्षा हुँदाहुँदै पनि समयमै सूचना, पूर्वतयारी र लचिलो व्यवस्थापनका कारण जनधनको क्षति न्यून भएको तथ्यले देखाउँछ- समस्या प्राकृतिक हो, तर क्षति मानव निर्णयले निर्धारण गर्छ  ।

अब आवश्यक छ- यो सुधारलाई संस्थागत बनाउने । प्राकृतिक विपद् व्यवस्थापनमा देखिएको यो ‘तात्कालिक तत्परता’ लाई दीर्घकालीन योजनामा रूपान्तरण गर्नुपर्छ। कर्मचारीतन्त्रमा प्राविधिक दक्षता, उत्तरदायित्व र लचिलोपन अभिवृद्धि अनिवार्य भइसकेको छ ।

नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा बाढी र पहिरो रोक्न सम्भव नहोला, तर यसको प्रभाव घटाउने सोच, तत्परता र नीति भने मानवीय निर्णयले नै निर्धारण गर् छ। र यही सोच परिवर्तन नै गत वर्ष र यस वर्षबीचको सबैभन्दा ठूलो भिन्नता बनेको छ । 

अब आवश्यक छ - कर्मचारीको सोचमा परिबर्तन जरुरी छ, तर कुनै पनि अनधिकृत व्यक्तिको हस्तक्षेपले कर्मचारीको मनोबलमा पर्ने असर र त्यसको जोखिम झन् भयावह हुन सक्छ।

देशको सेवा गर्ने भावना र उत्तरदायित्वको संस्कार कर्मचारी प्रणालीमा स्थापित हुन सके मात्र दिगो सुधार सम्भव हुन्छ । 'देश मेरो हो, मैले देशको लागि इमानदारीपूर्वक काम गर्नु पर्छ' भन्ने भावना प्रत्येक कर्मचारीको मनमा पलाउन सके, तब मात्र नयाँ नेपाल अबको विश्वको 'नयाँ नेपाल' बन्न सक्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै