• २०८२ कार्तिक २५ मंगलबार

पोखरा र जापानको ओत्सुकी नगरबीच पर्वतीय नगर मित्रताका लागि समझदारी

kharibot

पोखरा । पोखरा महानगरपालिका र जापानको ओत्सुकी नगरबीच अनुभव आदान प्रदान गरिएको छ । मंगलबार भएको भेटवार्तामा दुवै नगरबीच अनुभव आदानप्रदानका साथै दुइपक्षिय पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको हो ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले दुवै नगरका बिचमा विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा पोखरा जस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान सम्बन्धमा छलफल भएको बताए । 

ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगर बिचमा भएको पर्वतीय नगर मित्रताको समझदारी पत्र नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरेका थिए ।

पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायम प्रति प्रतिबद्ध रहने गरी पर्वतीय नगर मित्रताका लागि समझदारी भएको थियो ।

आफूलाई पोखरा निकै सुन्दर लागेको ओत्सुकी नगरका प्रमुख कोबायसीको भनाइ छ । प्राकृतिक रूपमा पोखरा र ओत्सुकीको भूगोल र वातावरणीय पक्ष एकै खालको रहेको उनले बताए । पोखरासँग सम्बन्ध स्थापनाका लागि आफू इच्छुक रहेको उनले बताए । नगरहरूका बिचमा पर्यटन आदानप्रदान, ज्ञान सीप र प्रविधिमा सहकार्यका लागि आवश्यक पहल गर्न आफूहरू तत्पर रहेको उनले बताए ।

टोलीमा ओत्सुकी नगरका प्रमुख सहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानुन विभागका प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल जापान फेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओकाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपानेको सहभागिता रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै