• २०८२ कार्तिक २५ मंगलबार

हिमाल संरक्षण र पर्वतारोहण व्यवस्थापनमा सहकार्य गर्न सरकार प्रतिबद्ध छ- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् ।

विहिबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासलाई दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री पाण्डेले जलवायु परिवर्तनका असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व भएको बताए । उनले पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

क्यासिनोबारे समाजमा बनाइएका नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । राम्रो र नराम्रो पक्ष छुट्याउनुपर्छ, विकृति–विसंगति हटाउनुपर्छ भन्दै उनले अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थका कारण मुलुक बदनाम हुने घटनाप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार, कुनै पनि क्षेत्रलाई अघि बढाउन सैद्धान्तिक र नीतिगत आधारमा कानुन निर्माण आवश्यक हुन्छ। निषेधित क्षेत्र घोषणा गर्ने समयमा रहेको वास्तविकता बुझ्नुपर्ने र त्यसको मार अझै पनि परिरहेको उदाहरण उनले प्रस्तुत गरे । 

त्यस्तै पर्यटन विभागका महानिर्देशक डा नारायण रेग्मीले कर्णाली र सुदूरपश्चिम प्रदेका ९७ वटा हिमाल आरोहणका लागि रोयल्टी छुट गरेको जानकारी दिँदै सरकारको उक्त कार्यले कर्णाली र सुदूरपश्चिमका हिमालको प्रचारप्रसार मात्रै नभई उक्त क्षेत्रमा पर्यटनको ढोका समेत खोलिने दाबी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै