‘मरेस्’ औधि रिस उठेपछि वा धेरै आत्तिएपछि वा महत्वपूर्ण काम बिगारेको अवस्थामा भन्नका लागि हाम्रो बुढाथोकी मामासंग नराम्रा शब्दहरू धेरै थिएनन् । यस्तो अवस्थामा उहाँ 'मरेस्’ भन्नुहुन्थ्यो र यस शब्दको विकल्पमा मामा यदाकदा 'जिर्गाहा’ शब्द पनि प्रयोग गर्नुहुन्थ्यो ।
जिर्गाहा वास्तवमा सिन्धुली जिल्लाको पूर्वी भागमा पर्ने एक तीव्र वेगको तर मामुली नदीको नाम हो । यो महाभारत पर्वतको दक्षिण श्रृङ्खलामा उत्पन्न भएर दक्षिण बग्छ र तीनपाटनको तिलङ्गेमा चदाहामा मिसिएर कमलाखुँजको बाँझे डुमरियानेर कमला नदीमा मिसिन्छ । खोलाघाँरी यही जिर्गाहा नदीको किनारको दिउँसोमा पनि राम्ररी घाम नलाग्ने अँध्यारो खोंच हो । खोलाघाँरीमा चारपाँच घर थिए र यी सबै घर बुढाथोकी परिवारका मात्र थिए । खोलाघाँरीनेर चै यो जिर्गाहा खोला छाङ्गो बनेर बग्थ्यो र माथि पहाडबाट तल झर्ने जिर्गाहा नदीको त्यस छाँगाको छङ्छङ् आवाजमा जनजीवनका सबै आवाजहरु दबिन्थ्यो । प्रकृतिले खोलाघाँरीलाई एक यस्तो भूक्षेत्रको स्वरुप प्रदान गरेको छ; जहाँ जिर्गाहा खोलाको आवाजको प्रधानताका बीच नजिकको मानिससंग पनि करिबकरिब चिच्याँएर सम्बाद गर्नु पर्दथ्यो, गाईवस्तु धपाउँदा पनि चिच्याए जस्तै गर्नु पथ्र्यो । यही असुविधाका बीच जन्मेहुर्केका खोलाघाँरीका मामाको पुस्ताका बुढाथोकी परिवारका सदस्यहरू अन्य समुदायका बीच रुपरङ्ग, चालचलन र भेषभूषाले होइनः बोलीले चिनिन्थे; शहरबजारमा यहाँका बुढाथोकीको बोली सुनेपछि 'यो बोली कसको हो' भन्ने भावका साथ मानिसहरू पल्याकपुलुक हेर्ने गर्दथे ।
हिउँदमा पनि तीव्र बेगमा बग्ने यो जिर्गाहाले बर्खामा त खोलाघाँरीका कयौं मानिस, गाईवस्तु र भेडाबाख्रा बगायो होला । उसै त ओसिलो र कम उत्पादन हुने खोलाघाँरीमा कर्यौ पटक यो जिर्गाहाले खेत र बारी बगायो होला; बानीनालीमा क्षति पुर्यायो होला र अनिकालको सम्भावना बढाइदियो होला । अथवा यही जिर्गाहाको किनारमा बुढाथोकी परिवारका कयौं आफन्तहरूको दाहसंस्कार भयो होला । यिनै कारण वा कुन्नि कुन कारण थियो, जसले गर्दा हदै रिसाएपछि वा आत्तिएपछि मामाको मुखबाट निस्किन्थ्यो— ‘जिर्गाहा ।’
झम्के साँझमा जङ्गलको बीचमा फेदीखोलामा मिसिन आउने एउटा अँध्यारो खोल्सामा गम्भीर चोटले रक्तमुछेल हुने गरी जखम भएर हल न चलको अवस्थामा उत्तमलाई भेटेपछि मामाले थोरै आक्रोश र धेरै व्याकुल स्थितिमा भन्नु भएछ— ‘मरेस् ।’
भएछ के भने, जंगलमा गाई चराउन गएको उत्तम भिरालो ठाउँमा रुखमा गएको लहरामा झुन्डिएर पिङ्ग खेल्न मन लागेछ र उत्तमले त्यस लहराको फेद काटेछ । हामी पनि जंगलमा गाईवस्तु चराउन जाँदा यस्तै गर्थ्यौं र त्यही लहरामा झुन्डिएर पिङ खेलेको मज्जा लिन्थ्यौं । यस दिन चै उत्तम लहरासंग हुत्तिएर खोल्सामाथि पुगेको र रोमाञ्चित भइरहेकै क्षणमा लहराले रुखसँग ‘सम्बन्धविच्छेद’ गरेछ र उत्तम तल खोल्साको ढुङ्गामा बजारिएछ । उसलाई लहराका भएभरका हाँगाबिँगाले पनि थिचेछन् । यो अनकन्टार जङ्गल, भिरालो भूबनोट, ढुङ्गामाथि बजारिएको बाह्रतेह्र वर्षको किशोर वयको उत्तमलाई रुखबाट झरेको लहराले थिचेको अवस्था !
यति भयानक घटनापछि पनि मानिस बाँच्न सम्भव छ !!
उत्तमको निधार र खुट्टामा अत्यन्त ठूलो र गहिरो घाउँ थियो र भलभल रगत बगिरहेको थियो । ऊ आफू बेहोस जस्तै थियो ।
छिप्पिदो साँझमा उत्तमलाई बोकेर घर पुर्याउँदा लगभग ६०–६५ वर्षका बुढाथोकी मामा स्वयम् रगतको पोखरीमा डुबुल्की मारेर निस्किए जस्तो देखिनु भएको थियो ।
कुनै पनि घटनाको वर्णनका लागि बुढाथोकी मामासंग खास धेरै शब्द थिएनन् । मामाले यस हृदयविदारक घटनाको पनि खासै वर्णन गर्नु भएन । उहाँको चिन्तामा परेका थियो– उत्तमको घाउ । यसका लागि के कस्ता जडीबुटी उपयोगी हुन्छन् भन्ने बारेमा मामाले सोधखोज गर्न र त्यस्ता जडीबुटीको खोजमेल गर्न समय दिन थाल्नु भयो । एकातिर घाउ पाक्छ कि भन्ने डर; अर्कातिर कचकच गरेर उत्तम आफैले घाउ कतै ठोक्काउँछ कि भन्ने भय । यो हामी परिवारका सबै सदस्यको सगोलको चिन्ता थियो र यसैभित्र बुढाथोकी मामा पनि हुनुहुन्थ्यो ।
वास्तवमा बुढाथोकी मामा कुरामा होइन; काममा विश्वास गर्नु हुन्थ्यो । गफगाफमा समय बिताउनु मामाका लागि कठिन अभ्यास हुन्थ्यो । हाम्रो परिवारभित्र उहाँ हाम्रो बाआमाको ‘दाजु’ हुनुहुन्थ्यो र हामीलाई व्यावहारिक सल्लाह दिने मात्र होइन; काम अह्राउने हैसियतमा हुनुहुन्थ्यो । दैनिक जीवनमा हाम्रो भूमिका बुढाथोकी मामाले नै तोकिदिनु हुन्थ्यो ।
बुढाथोकी मामा निश्चित रकममा हाम्रो परिवारको अभिभावक हुनुहुन्थ्यो ।
मामालाई रामायणका कयौं श्लोक कण्ठ थिए । काम गर्दा वा कतिकतिबेला उहाँ आफै धकाए जस्तो मन्द स्वरमा ती श्लोक गुन्गुगुनाउनु हुन्थ्यो । सानु ती श्लोकको प्यारोडी बनाएर मामालाई जिस्क्याउँथ्यो; मामा कहिले मुसुमुसु हाँस्नु हुन्थ्यो, कहिले लखेट्नु हुन्थ्यो । मामाको यस्तो व्यवहारले ऊ अझ जिस्क्याउन हौसिन्थ्यौ । मामालाई सबैभन्दा बढी मनपर्ने पनि सानु नै थियो ।
मामाकै पछि लागेर आलुको बिउँ किनिदिन म पहिलो पटक रामेछाप बजार पुगेको थिएँ । यो यात्रा तीनपाटनबाट रामेछाप चामल खेप्ने मानिसहरूको दुःखसुख बुझ्ने आधार बन्यो– मेरालागि । ती दिन रामेछापको सदरमुकाम सडक यातायातसँग जोडिएको थिएन र राम्रो र सग्ला चामलका लागि तीनपाटनको ख्याति रामेछाप बजारमा उत्कर्षमा थियो । ती दिन रामेछापमा हफ्तामा एक दिन हाट लाग्थ्यो र तीनपाटनका पहाडी भेक कोटगाउँ, राम्चे, छिरिङबास, धापचौकी र बितिजोर खोलाको आसपासका युवायुवती तीनपाटनमा धान किनेर ढिकीमा कुट्थे र रामेछापको हाट भेट्न दगुर्थे । रूखोसुखो खाना र खाजा आएर बाह्रचौध पाथी चामलको भारी बोकेर महिलाहरू पनि कोटगाउँको र धापचौकीको उकालो छिचोलेर बितिजोर खोलामा झर्थे र सुलीभन्ज्याङको सुनकोसीको झोलुङ्गे पुल तरेर कठजोर बास बस्न पुग्न कोसीपारिको उकालो उक्लिन्थे । यसपटक मामाको भारी खासै थिएन, मेरै जोडबलले मामा यिनै चामल पैकारीको सारमा हिड्नु भएको थियो । यही श्रमपूर्ण जीवनको अन्तरप्रेरणामा र यस्तो कठोर जीवनको सम्मानमा मैले रचना गरेको थिएँ– 'मेमसाब, हजुर सोलुखुम्बु चामल खेप्नु हुन्छ ?’ शीर्षकको कविता । (र, यो कविता समीक्षा साप्ताहिकमा प्रकाशित भएको थियो ।)
चितवनको स्मलहेवेनमा शिक्षण गरेताका उत्तम भन्थ्यो– ’म कक्षामा उभिएर विद्यार्थीतिर हेर्छु; कक्षाभरिका विद्यार्थीहरूले भने मेरो निधारको यही खत हेरे जस्तो लाग्छ ।’
(संयुक्त राज्य अमेरिकाको हुस्टन युनिभर्सिटीका रसायनशास्त्रका विद्यार्थीहरू आफ्नो कक्षामा प्रा.डा. उत्तमराज पोखरेलको निधारतिर नियाल्छन् कि नियाल्दैनन्, अचेल ।)
अब उत्तमको निधारको त्यो खत मेटिए जस्तै छ; हामी जसजसलाई थाहा छ; हाम्रा दृष्टिमा पनि त्यो खत अब हो कि होइन जस्तो अवस्थामा छ । उत्तमको घुँडामुनिको त्यो ठूलो घाउ भने अझै खतको रुपमा छ ।
बुढाथोकी मामा उत्तमको निधार र घुँडाका यी खतमा हुनुहुन्छ; बुढाथोकी मामा हामी सबैको स्मृतिमा हुनुहुन्छ ।
अत्यन्त सज्जन र सरल जीवन व्यतीत गरेका बुढाथोकी मामालाई हार्दिक श्रध्दाञ्जलि !!









