काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उच्च अदालतको वीरगञ्ज इजलासले अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने 'बहादुर' न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् ।
उनले भनेका छन्- 'हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने 'बहादुर' न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।'
उनले त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा 'निर्दोष' बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्ने बताउदै श्रेष्ठले यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न समेत गरेका छन् । उनले सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी रहेको समेत बताएका छन् ।









