काठमाडौँ । रोहित शर्माको नेतृत्वमा भारतीय क्रिकेट टिम अर्को आईसीसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । भारत च्याम्पियन्स ट्रफीको उपाधि भिडन्तमा प्रवेश गरेको छ, जहाँ उसले आइतबार दुबईमा न्युजील्याण्डको सामना गर्नेछ । भारत प्रतियोगितामा अहिलेसम्म अपराजित छ र लगातार चार खेल जितेर फाइनलमा पुगेको छ ।
पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट रहेको छ । रोहितको कप्तानीमा रहेको भारतीय टोलीले गत वर्ष टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो, जुन ११ वर्षमा पहिलो पटक आइसीसी उपाधि थियो । अब, आठ महिना पछि, टोली दोस्रो आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ र उपाधिको धेरै नजिक छ । यद्यपि, भारतको लागि न्युजील्याण्डको चुनौती सजिलो हुनेवाला भने छैन ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि भिडन्तमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुनेछन् । रोचक कुरा के छ भने, यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्युजील्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो ।
पछिल्ला केही वर्षहरूमा भारतले आईसीसी प्रतियोगिताहरूमा प्रभुत्व जमाएको छ । भारतले उपाधि जित्ने अवसरहरू गुमाइरहेको भए पनि, लगातार नकआउट खेलहरूमा पुग्न सफल भएको छ । अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा आयोजना भएको थियो, त्यतिबेला पनि भारत फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट चुकेको थियो । त्यसपछि टोली २०१९ एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्यो जहाँ उनीहरू न्यूजील्याण्डसँग पराजित भए र प्रतियोगिताबाट बाहिरिएको थियो । भारत २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि हारेको थियो। त्यसपछि भारत २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल र २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भयो ।
भारतको आईसीसी उपाधि जित्ने खडेरी २०२४ मा रोहितको कप्तानीमा टी-२० विश्वकप जितेपछि समाप्त भयो । भारतले पहिलो पटक १९८३ मा कपिल देवको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो, जुन भारतको पहिलो आईसीसी उपाधि थियो । त्यसपछि टोली २००० मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो तर न्युजिल्याण्डसँग हारेको थियो ।
२००२ मा, यो सोही प्रतियोगितामा श्रीलंकासँग संयुक्त विजेता बन्यो । त्यसको अर्को बर्ष, भारतीय टिम सौरभ गांगुलीको नेतृत्वमा २००३ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो, तर देशको सपना फेरि एक पटक चकनाचुर भयो र टोलीले अष्ट्रेलियाको हातबाट हार बेहोर्नु पर्यो । २००७ मा, महेन्द्र सिंह धोनीको नेतृत्वमा, भारतले पहिलो टी-२० विश्वकपको फाइनलमा पाकिस्तानलाई पराजित गर्यो ।
ठीक चार वर्षपछि, धोनीको कप्तानीमा, भारतले मुम्बईको वानखेडे स्टेडियममा खेलिएको २०११ को एकदिवसीय विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जित्यो । धोनीको नेतृत्वमा भारतले २०१३ मा च्याम्पियन्स ट्रफीमा फेरि इङ्गल्याण्डलाई पराजित गर्यो । धोनीको कप्तानीमा यो भारतको तेस्रो आईसीसी उपाधि थियो । यसपछि भारतीय टिम उपाधिको लागि आतुर थियो । २०१४ को टी-२० विश्वकपको फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो । जबकि, २०१७ मा, उनीहरू च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएका थिए । भारतले २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल हारेको थियो भने टोलीले घरेलु मैदानमा २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेको थियो । यद्यपि, २०२४ मा बार्बाडोसमा भारतको उपाधि खडेरी गत वर्ष समाप्त भयो र भारत अब अर्को आईसीसी उपाधिको आशामा छ ।
च्याम्पियन्स ट्रफी २०२५ को फाइनल अघि भारत सबै ढाँचामा कुल १३ पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ । यसमध्ये भारतले छ पटक उपाधि जित्न सफल भएको छ । भारतले १९८३, २००२, २००७, २०११, २०१३ र २०२४ मा आईसीसी उपाधि जितेको छ । यदि भारतले आइतबार न्युजील्याण्डलाई हराउन सफल भयो भने, यो सातौं आईसीसी उपाधि हुनेछ, जबकि यो रोहितको कप्तानीमा लगातार दोस्रो आईसीसी ट्रफी हुनेछ ।