• २०८१ फाल्गुण १९ सोमबार

‘नो केवलकार’ समूहलाई सरकारले पठाएन पत्र, गृहमन्त्रीले संसदबाटै गरे वार्ताको आह्वान

kharibot

काठमाडौं  । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले ‘नो केवलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्रीले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको उल्लेख गरे ।

गृह मन्त्रालयले आइतबार केवलकार विरोधी समूहलाई वार्ताका लागि पत्र पठाउने भनिएको थियो । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद आचार्यले यस्तो जानकारी दिए पनि अहिलेसम्म पत्र पठाइएको छैन । बरु गृहमन्त्रीले संसदबाटै वार्तामा आह्वान गरे ।

गृहमन्त्री लेखकले पाथीभरामा केबलकार निर्माण गर्ने निर्णय २०७५ सालमै भएको बताए । ‘केबलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सोमा रहेका रुख बिरुवा हटाउन स्वीकृति दिने गरी मिति २०७५ पुस १६ गते निर्णय भएको हो,’ उनले भने ।

निर्माणधीन केबलकारको सुरक्षार्थ तत्कालको लागि बटम स्टेसनमा सशस्त्र प्रहरी बलको बेस क्याम्प स्थापना गर्ने सन्दर्भमा नेपाल प्रहरीसँगको सहकार्यमा परिचालन हुने गरी सुरक्षा व्यवस्थापन मिलाउने निर्णय २०८० माघ २ गते भएको उनले बताए । यो निर्णय तत्कालीन गृहमन्त्रीस्तरको निर्णय रहेको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै