काठमाडौं । उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको विषयले कौतुहलता बनाएको छ ।
अध्यादेशको विरोध गर्दै संसदमा विपक्षमा मतदान गर्ने निर्णय समेत गरेर सरकारलाई अप्ठ्यारोमा पारेका उपेन्द्रले फेरी आज नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेपछि उनक कदमप्रति आशंका व्यक्त हुन थालेका छन् ।
जसपा नेपालले आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा.उमाशंकर प्रसादलगायतले सम्बोधन गर्ने बताइएको छ ।
त्यस्तै जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ ।
अध्यादेशबारे धारणा बनाउन जसपा नेपालले यसअघि उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा कार्यदल अध्ययन समिति नै बनाएको थियो । समितिले दिएको सुझावको आधारमा जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा जसपा नेपालले आज पुनः अन्तरक्रिया राख्नुलाई विशेष रुपमा हेरिएको छ ।
उपन्द्रले अन्य अध्यादेशलाई समर्थन गर्ने यस अघि नै बताएर भूमि सम्बन्धि अध्यादेशको मात्र विरोध गरेका थिए । अब फेरी अध्यादेश बारे छलफल चलाएर उनले यसलाई सत्ताको भर्याङ बनाउन खोजेको चर्चा राजनीतिक वृतमा चलिरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भूमिसम्बन्धी अध्यादेशको बारेमा संवाद जारी रहेको र प्रधानमन्त्री ओलीले उपेन्द्रलाई सरकारमा आउन आग्रह गरिरहेको बुझिएको छ । उपेन्द्रको माग बमोजिम प्रधानमन्त्री ओली मधेश प्रदेशको सरकारको नेतृत्व समेत उपेन्द्रलाई दिन तयार भएपछि उनले अध्यादेशको पक्षमा मत दिनसक्ने आकलन शुरु भएको छ ।