काठमाडौँ । प्रहरी कुटपिटको घटनामा संलग्न रहेको आरोपमा सत्तारूढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले बिहीबार साँझ नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तको क्विक रेस्पोन्स टिम (क्युआरटी) मा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि कुटपिट भएको थियो ।
घटनामा संलग्नमध्ये ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई प्रहरीले माघ २७ गते नै पक्राउ गरिसकेको छ । तर, जोशीमाथि सीसीटीभी फुटेजमा देखिएको बावजुद कारबाही प्रक्रिया अघि नबढाइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
घटनाको सीसीटीभी फुटेजमा जोशी देखिए पनि प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याएको थिएन । सत्ताको आडमा उनलाई कारबाही नगरेको भन्दै आलोचना बढेपछि प्रहरीले फेरि पक्राउ पुर्जी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो ।