काठमाडौँ । जर्जियाको सत्तारुढ दल जर्जियन ड्रीम पार्टीले मिखाइल काभेलाश्भिलीलाई देशको नयाँ राष्ट्रपतिमा नियुक्त गरेको छ ।
फुटबलरबाट अति दक्षिणपन्थी राजनीतिज्ञ बनेका काभालेशभिलीको नियुक्ति जर्जियामा अक्टोबरमा हुने निर्वाचनलाई लिएर विवाद भएको बेला आएको हो । निर्वाचनमा जनताले घुसखोरीदेखि दुईपटक भोट हाल्ने घटनासम्मका आरोप लगाएका छन् ।
काभालेशभिली आफ्नो पार्टीमा राष्ट्रपति पदका एक मात्र उम्मेदवार थिए । उनलाई शनिबार सर्वसम्मतले उक्त पदमा चयन गरिएको हो । तर, काभालेशभिलीको चुनावपछि जर्जियाका विपक्षीहरूले संसद बहिष्कार गर्ने निर्णय गरेका छन् । विपक्षी सांसदहरूले अक्टोबरमा गरिएको धाँधलीको आरोपलाई आफ्नो निर्णयको कारण बताएका छन् ।
सात वर्षअघि संवैधानिक संशोधनपछि जर्जियामा निर्वाचन पद्धति परिवर्तन गरिएको थियो । यस वर्षको अक्टोबरमा भएको निर्वाचनमा रुस समर्थक जर्जियन ड्रीम पार्टीले ५३.९ प्रतिशत मत प्राप्त गरेको थियो । यसले संसदमा १५० सिटमध्ये ८९ सिट जित्यो । यस निर्वाचनमा मतदानपछि विपक्षीले राजधानी टिबिलिसीमा प्रदर्शन गरेका छन् । विपक्षी दलहरुले निर्वाचन धाँधली भएको आरोप लगाएका छन् । अर्कोतर्फ, दुई अमेरिकी सर्वेक्षण एजेन्सीहरूले पनि यी चुनावी परिणामहरूमा अनियमितता संकेत गरेका छन्।
अचम्मको कुरा के छ भने अक्टोबर २६ मा चुनावी नतिजा घोषणा भएदेखि जर्जियामा दिनहुँ प्रदर्शन भइरहेका छन् । तर, सरकारले सन् २०२८ सम्म ईयूबाट बहिर्गमन वार्ता स्थगित गर्ने घोषणा गरेपछि आन्दोलनले हिंसात्मक रुप लिएको थियो । जवाफमा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यासदेखि पानीको फोहोरासम्म सबै प्रयोग गरेको थियो । चार सयभन्दा बढी पक्राउ पनि परेका छन् ।
काभालेशभिली १९९० को दशकमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि स्ट्राइकर थिए । सन् २०२२ मा नै उनले जर्जियन ड्रीम पार्टीका दुई सांसदसँग मिलेर पिपुल्स पावर नामक समूह खोलेका थिए । यो समूह आफ्नो पश्चिम विरोधी एजेन्डाका लागि परिचित छ ।
जर्जियामा राष्ट्रपतिका लागि मतदान हुनुअघि ठूलो सङ्ख्यामा मानिसहरू संसदबाहिर प्रदर्शनका लागि भेला भएका थिए । हिउँ परे पनि उनीहरुले फुटबल खेले र संसदतर्फ रातो कार्ड देखाए । यो आफ्नो विगतको क्यारियर दिएर काभालेशभिलीविरुद्ध प्रदर्शन गर्न एक नयाँ तरिका थियो ।