काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक रुपमा माफी दिएका छन् ।
उनका छोरा हन्टर दुई आपराधिक मुद्दामा दोषी पाएका थिए । राष्ट्रपति बाइडेनले आफ्नो छोरालाई निशाना बनाइएको बताएका छन् ।
उनले भने- 'मैले पदभार ग्रहण गरेको दिन, मैले न्याय विभागको निर्णयहरूमा हस्तक्षेप नगर्ने भनेको थिएँ, र मैले मेरो छोरालाई अनुचित अभियोगको सामना गरेको देख्दा पनि मैले त्यो वाचा पूरा गरें ।'
हन्टर बाइडेनले सेप्टेम्बरमा कर छलीको मुद्दामा दोषी स्वीकार गरेका थिए । जुनमा, हन्टरलाई बन्दुकको अवैध कब्जामा दोषी पाइएको थियो ।
बाइडेनले सेप्टेम्बर २०२४ मा, ह्वाइट हाउसका प्रेस सेक्रेटरीमार्फत आफ्नो छोराको अपराध माफ नगर्ने बताएका थिए ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिएकोमा प्रतिक्रिया दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्, 'के जो बाइडेनले हन्टरलाई दिएको माफीमा वर्षौंदेखि जेलमा रहेका जनवरी ६ का कैदीहरू पनि समावेश छन् ? यो न्यायको स्पष्ट दुरुपयोग हो ।'