• २०८१ मङ्सिर ३ सोमबार

लामिछाने र जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध आइतबार अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछाने र जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

योसँगै लामिछानेविरुद्ध कास्की, रुपन्देही र काठमाडौँ गरी तीन ठाउबाट पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले लामिछानेलाई कास्कीपछि रुपन्देही लगेर बयान लिएको छ । पछिल्लो पटक गत आइतबार लामिछानेलाई १३ दिन थुनामा राख्न कास्की अदालतले अनुमति दिएको थियो । जस अनुसार लामिछानेलाई कास्की प्रहरीसँग मङ्सिर ७ गतेसम्म हिरासतमा राख्ने अनुमति रहेको छ ।     

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै