काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ ।
५ खेलको सिरिजको तेस्रो खेलमा नेपालले कर्नाटका टिमलाई १२१ रनले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्य पछाएको कर्नाटकाको टिमले अल आउट हुदै १६१ रन मात्र बनाएपछि नेपाल १२१ रनले विजयी भएको हो ।
यस अघि नेपालले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ६ विकेट गुमाउदै २८२ रन बनाएको थियो । नेपालका लागि रोशन विकले ८१ र मयन यादवले ५८ रन बनाएका थिए ।
योसँगै ५ खेलको सिरिजमा नेपाल २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल मंगलबार हुने छ ।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्महुने यू-१९ एशिया कपको तयारीको रुपमा यो सिरिज खेलिरहेको छ ।
एशिय कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।