काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना उम्मेदवारमाथि मनोनयन दर्ता नगर्न धम्की दिएको बताएको छ । रास्वपाले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको हो ।
स्थानीय तहको उपनिर्वाचनका लागि हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला उम्मेदवारी नदिन भन्दै धम्क्याइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले जानकारी दिएका छन् ।
उनले धम्कि दिने कार्यमा नेपाली कांग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।
रास्वपाले मधेश प्रदेशमा पनि स्वपाका सम्भावित उम्मेदवारहरुलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरु भएको दाबी गरेको छ। बुर्लाकोटीले निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको उल्लेख गरेका छन् ।