• २०८१ पौष २१ आइतबार

आज नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा मनाइदै

kharibot

काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी आजको दिन मनाउने गरेका छन्  ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । 

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । अहिले सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने कामको शुरुवात छ ।

आज आत्म (म्हः) पूजा

आज दिन नेवार समुदायमा  म्हः (आत्म) पूजा समेत गरिन्छ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

देशभरका नेवार समुदायले आज नेपाल संवत नयाँ वर्ष र म्हः (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ । 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको बताइएको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने  र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै