• २०८१ असोज १२ शनिबार

राहत र उद्धारमा ध्यान केन्द्रित गर्न सभापति देउव्काको सरकारलाई आग्रह

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

अविरल वर्षाका कारण व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्- ‘मानिसहरु बेपत्ता र घरवारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।'

सभापति देउवाले यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।

साथै देउवाले सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशनसमेत दिएका छन् । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै