• २०८१ असोज ४ शुक्रबार

मधेश सरकारले मनायो पहिलोपटक संविधान दिवस

kharibot

काठमाडौं । मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान प्रभातफेरि गरिएको छ ।

जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको प्रभातफेरि नगरको विभिन्न भागको परिक्रमा गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित प्रभातफेरिमा मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका छन् । मुख्यमन्त्री सिंहले संविधान जारी भएपश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा यदि केही त्रुटि छभने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रदेशमा आफ्नो प्रशासन नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए ।

देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उनको भनाइ छ । उनले सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानमा गरिब र धनी सबैका अधिकार समेटिएको उल्लेख गरे । उनले संविधान विश्वकै उत्कृष्ट भएकाले यसलाई इमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, “देशमा धेरै विचारहरू छन् । त्यो सबै विचारको साझा विचार संविधान हो ।”

गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानले संशोधनको बाटो खोलेका कारण संविधानभित्रका त्रुटि पहिचान गरी संशोधन गर्न सकिने बताए । कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले संविधानको विकास क्रम र सङ्घीयताको अवस्था विषयक प्रस्तुति राखेका थिए।

कार्यक्रममा कलाकारहरूले देशभक्ति गीतमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका प्रमुखहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनु अघि रामानन्द चोकबाट प्रभावत फेरी निकालिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै