• २०८१ असोज १ मंगलबार

जसपा नेपालले ५ लाख नयाँ संगठित सदस्य थप्न अभियान चलाउने

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ५ लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्ने भएको छ ।

यही भाद्रको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मंसिरको मसान्तसम्म जारी रहने बताइएको छ ।

केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको जसपा नेपालको सिंगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिन लागेको हो । त्यसका लागि जसपा नेपालले आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिएको छ ।

ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन दुई सय १५ जना केन्द्रीय सदस्यहरुलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, बिस्तार, सुद्धिकरण र सुद्दढिकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुलाई आह्वान गरेका छन् । संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चीर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पुर्याउनेहरुको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताए ।

यो अभियान टोल, बुथ, गाँउ, नगर, पालिका, प्रदेश, संघीय निर्वाचन वा क्षेत्रमा केन्द्रीत हुनेछ । पार्टी संगठन टोल, बुथ, वडा, गाँउ, नगर, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा समिति गठनरपुनर्गठन, संगठन विस्तार, प्रशिक्षण, अन्तक्रिया, गोष्ठि, जनसभा, लगायत अन्य कार्यक्रमहरु गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको जसपा नेपालले जनाएको छ ।

‘यो केन्द्रीय समिति बैठकले आगामी अभियान संचालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यहरूलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौं’– अध्यक्ष यादवले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै