काठमाडौं । सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् ।
विहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले भ्रष्टाचारसम्बन्धी मुद्दामा जुनसुकै समयमा पनि अनुसन्धान र पक्राउ गर्न सक्ने गरि हदम्याद राख्न नहुने सुझाव दिएका हुन्।
सांसद गगन थापाले भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई हेर्ने गरि अर्को व्यवस्था गर्नुपर्ने बताउदै भ्रष्टाचारजन्य कसुरमा कुनै हदम्याद नराख्ने पहिलेकै व्यवस्थालाई कायम राख्नुपर्नेमा जोड दिए । उनले सम्पत्ति विवरण नबुझाउनेको जरिवानालाई बढाउनुपर्ने सुझाव दिए ।
त्यस्तै सांसद माधव सापकोटाले भ्रष्टाचारविरुद्ध जागरण अभियान सञ्चालन गर्न कानूनी व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सांसद रोशन कार्कीले भ्रष्टाचार निवारण गर्नका लागि राजनीतिक प्रतिवद्धता र कार्यान्वयन हुनुपर्ने बताइन् ।
बैठकमा गृहमन्त्री रमेश लेखकले अख्तियारको क्षेत्राधिकारको विषय, भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न हुने वा नहुने लगायतका विषयमा समितिमा विस्तृत छलफल भएपछि सरकारले आफ्नो धारणा राख्ने बताए।उनले सरकारको फरक मतकै कारण विधेयकलाई अघि बढाउन कुनै जटिलता आउन नदिने प्रतिबद्धता जनाए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा गैरकानुनी सम्पत्ति आर्जनको हदम्याद ५ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।