• २०८१ असार १५ शनिबार

प्रतिनिधि सभामा बजेटमाथिको छलफल सकियो

kharibot

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल सकिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए । आज विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफल सकिएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड'ले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले  दिएका हुन्। 

योसँगै विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफल सकिएको हो । बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्ने क्रम जारी छ । बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजै बजेट पारित गराउने सरकारको तयारी छ ।

बजेट पारित गराउन नेकपा एमाले,नेकपा माओवादी केन्द्रलगायत सत्तापक्ष दलले ह्विप जारी गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै