• २०८१ असार १२ बुधबार

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज गराउन कांग्रेसको माग

kharibot

काठमाडौँ । नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले आज जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको अभावमा नागरिक आतङ्कित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो ।

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घसँग माग गरेका छन् ।

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृङ्खलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविरुद्ध कानुन बमोजिम कारबाही गर्न समेत कांग्रेसले माग गरेको छ।

विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधान प्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै