• २०८१ असार १२ बुधबार

अतिआवश्यक सामान ल्याउँदा एसएसबीको ज्यादती, छोटी भन्सार सञ्चालन नहुँदा समस्या

kharibot

रौतहट । सीमावर्ती भारतीय बजारबाट अतिआवश्यक सामान ल्याउँदा पनि भारतीय सीमासुरक्षा बल एसएसबीले ज्यादतीपुर्ण ब्यवहार गर्ने गरेको रौतहट स्थित सिमाबासिले गुनासो गरेका छन् । 

बिवाह, चाडँ पर्व लगायत बिभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन्।

बौधिमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमास्तम्भ ३५५/७ नजिकै आँपको बगैंचामा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा आयोजीत "सिमाबासी संग सशस्त्र प्रहरी" बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयहरूले आफ्नो पीडा संगै  सुझाव राखेका छन् ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंको प्रमुख आतिथ्य तथा बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवको बिशिष्ट आतिथ्य तथा परोहा नगरपालिकाका जनप्रतिनिधि सम्मिलित भएको कार्यक्रममा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु, कृषिजन्य बीउबिजन, मलखाद ल्याउँदा एसएसबिले बिभिन्न कारण देखाएर गर्ने हैरानी प्रति सहभागीहरुले ध्यानाकर्षण गराएका थिए।

तत्कालीन बिद्रोही माओवादी र सरकार बिच भएको १० बर्षे सशस्त्र द्वन्दको समय सुरक्षाको कारण देखाई बन्द भएको बंकुलमा स्थित छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानिय ब्यापारी देखि सर्वसाधारण सिमाबासिले शास्ती खेप्नुपरेको हुँदा सञ्चालनको लागि सहभागीहरुले पहल गरिदिन आग्रह गरेका थिए।

त्यस्तै हाल बर्षात तथा मनसुनको समय आउनै लागेकाले हुनसक्ने बाढीबाट उत्पन्न हुने जोखिमबाट बच्ने उपाय,सीमा सुरक्षा अपराध न्यूनीकरण बारे स्थानीयहरूले प्रश्न उठाएका थिए। 

 सीमासंग जोडिएको पालिकाका बासिन्दाले उत्पादन गरेको कृषिजन्य वस्तु जिल्ला भित्र एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा हुनेगरेको बिभिन्न किसिमका हैरानीको अन्त हुनुपर्ने, सीमाक्षेत्रमा आवतजावत गर्न  वारपार हुने सवारीसाधनको व्यवस्थापनको लागि माग गरेका थिए। केही कुपात्रहरुले सामाजिक सञ्जालमा सीमाक्षेत्रमा अबैध गतिबिधि भईरहेको भनेर भ्रम फैलाउने गरेकाले त्यसको सत्यतथ्य छानबिन हुनुपर्ने सिमाबासिले माग गरेका थिए।

सिमाबासिले राखेको बिभिन्न समस्याहरूको समाधान बारे मेयर प्रदीप कुमार यादव र सीमाको महत्व सुरक्षा बारे उठेको प्रश्नको  सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जवाफ दिएका थिए। 

कार्यक्रममा सुरक्षा अधिकारी, जनप्रतिनिधि सीमा सहजीकरण समितिका पदाधिकारी तथा बौधिमाई र परोहा नगरपालिकाका स्थानिय बासिन्दा गरी १५० भन्दा बढी मानिसको सहभागिता रहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।

सशस्त्र प्रहरी बल रौतहटका एस्पी हुमागाईंको सक्रियतामा रौतहटमा सिमाबासिको समस्या उजागर संगै समाधान गर्ने पटकपटक पहल तथा प्रयास हुँदै आएको स्थानीयहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै