• २०८१ असार ८ शनिबार

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न उत्प्रेरित बनौं- प्रधानमन्त्री

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीले आज विश्व वातवरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 'मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको छु । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको छ ।'

साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले भनेका छन्- 'विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ । सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ ।'

प्रधानमन्त्रीले शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख गरेका छन् । यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा  ‘हाम्रो भूमि:  हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गरेका छन् । 

साथै, सन्देशमा वातावरण संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याउने सबै निकाय र सरोकारवालाप्रति उनले धन्यवाद ज्ञापनसमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै