• २०८१ असार १० सोमबार

बागमतीको नीति तथा कार्यक्रम: बन्द उद्योग संचालन गर्ने, पूर्वाधार विकासलाई प्राथमिकता

kharibot

हेटौडा । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशमा बन्द अवस्थामा रहेका उद्योगहरू सञ्चालन गरिने तथा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरिने उल्लेख गरिएको छ ।  प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउदै प्रदेशमा लगानी प्रोत्साहनका लागि लगानी बोर्डको स्थापना समेत गरिने उल्लेख छ । 

त्यस्तै कृषि उत्पादन वृद्धिका लागि नीति निर्माण गर्ने, प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । आगामी वर्षलाई युवा उद्यमशीलता विकासका लागि सीप वर्ष घोषणा गरी कार्यान्वयन गरिने, कृषक सूचीकरण र वर्गीकरण गरी प्रोत्साहन गरिनुका साथै कृषि उपजको बजार केन्द्रहरूको पूर्वाधार निर्माण र व्यवस्थापनको व्यवस्था गरिने, प्रदेश स्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि संघीय सरकारसँग समन्वय गरिने घोषणा गरिएको छ । प्रदेश सरकार, निजी क्षेत्र तथा दूध उत्पादक सहकारीको साझेदारीमा बागमती धुलो दूध कारखाना सञ्चालन गरिने, हेटौँडामा निर्माणाधीन थोक तरकारी बजार सञ्चालन गरिने, अभियानकै रुपमा प्याज र लसुन खेती कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी एक निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना भन्ने नारा अगाडि बढाउँदै यसका लागि स्थानीय तहसँग समन्वय गरिने शर्माले बताए। बागमती प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरिनुका साथै पर्यटन गन्तव्यको विषयमा समेत पर्यटकलाई जानकारी गराउन आवश्यक कार्य गरिने कार्यक्रम समावेश गरिएको छ । 

त्यस्तै प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने, यातायात कार्यालयको सेवालाई प्रविधिमैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने, सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने, प्रदेशवासीलाई मोबाइल एपबाट विपद् तथा रोगहरूको जानकारी गराइने, औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने विषयलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने नीति अगाडि सार्नुका साथै विदेशी काठको आयात निरुत्साहित गरिने कार्यक्रम ल्याइएको छ । त्यसैगरी मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि आवश्यक व्यवस्था गरिने छ भने बाँदर, बँदेल लगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन हुनेछ । 

त्यस्तै एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रमलाई थप विस्तार गर्दै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै लगिने, स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने, बागमती प्रदेश विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति अवलम्बन गर्ने उल्लेख गर्दै भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला सह लगानीमा सम्पन्न गर्ने र हेटौँडाको गौरिटार रंगशालामा निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकास समयमै सम्पन्न गरिने, प्रदेश सुशासन केन्द्रलाई प्रादेशिक प्रशिक्षण तथा तालिम केन्द्रको रुपमा विकास गरिने, प्रदेश लोकसेवा आयोगलाई थप सुदृढीकरण गरिने, स्थानीय तहसँगको समन्वयमा श्रमिककै सहभागिता हुने गरी श्रमिक सहकारी संस्था स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै