• २०८१ असार १२ बुधबार

निर्वाचन आयोग बारे महालेखाको प्रश्न- मेसिन किनेर बाहिर ९ करोडको छपाई !

kharibot

काठमाडौं । निर्वाचन आयोगले मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री प्रयोग नगरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्बजनिक गरेको बार्षिक प्रतिवेदनमा आयोगले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, राष्ट्रपति निर्वाचनमा पुन: प्रयोग गर्न मिल्ने मेसिनरी सामग्री प्रयोग नगरेको पाइएको उल्लेख गरेको हो ।

प्रतिवेदनमा भनिएको छ- 'विगतको निर्वाचनको तुलनामा कम खर्च भए पनि आयोगमा विगत निर्वाचनमा खरिद भई मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री तथा मेसिनरी उपकरणको उपयोग भएको पाइएन ।'

त्यस्तै प्रतिवेदनले मतदानमा सहभागिता दर घटेको र बद्र मत बढेको भन्दै आयोगमाथि प्रश्न उठाएको छ । महालेखाको प्रतिवेदनमा भनिएको छ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ मा ६८.६७ प्रतिशत मतदान भएकोमा २०७९ को चुनावमा ६१.८५ प्रतिशत मात्र मतदान भएकाले मतदानमा सहभागिता दर घटेको देखिन्छ । यो वर्षको प्रत्यक्ष निर्वाचनतर्फ ६.०६ प्रतिशत र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । मतदानमा सहभागितादर वृद्धि गर्न एवं बदर मत प्रतिशतलाई न्यूनीकरण गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्दछ ।'

महालेखा परीक्षकको कार्यालयले अनावश्यक रुपमा मतपत्र छापेको प्रति पनि आयोगमाथि प्रश्न उठाएको छ । प्रतिवेदनमा छपाइको कागज ४५ प्रतिशत मात्र मतपत्र प्रयोगमा आएको र ५५ प्रतिशत कागज थन्किएको उल्लेख छ । 

त्यस्तै महालेखाले आयोगले ०७४ मंसिर २२ मा किनेको छपाइ मेसिन किनेको तर आफ्नो मेसिन प्रयोग नगरी निर्वाचन सामग्री छपाइबापत ९ करोड ३८ लाख ५७ हजार खर्च गरेको प्रति प्रश्न उठाएको छ ।

प्रतिवेदनमा भनिएको छ- 'आयोगले २०७४/८/२२ मा खरिद गरेको १० करोड ५५ लाख ४० हजार मूल्यको हाई स्पिड कलर प्रिन्टर एक थान र ११ करोड २८ लाख मूल्यका छाङ्ग स्प्रिङ्ग डिजिटल मोनोक्रम दुई थान प्रयोग नभएको बेहोरा विगत वर्षदेखि औँल्याएकोमा यस वर्ष पनि उक्त प्रिन्टरहरू प्रयोग गरेको छैन । आयोगमा ९ वटा श्यामश्वेत तथा ६ वटा रंगिन मेसिनमध्ये चारवटा मेसिन चालु अवस्थामा रहेको देखिएकाले उपलब्ध स्रोतको अधिकतम परिचालन गरी छपाइसम्बन्धी कार्य गर्नुपर्नेमा सोअनुसार नगरी निर्वाचन सामग्री छपाइबापत ९ करोड ३८ लाख ५७ हजार खर्च लेखेको छ । रणनीतिक योजनामा उल्लेख भएअनुसार उपकरण प्रयोग गरी छपाइ कार्य गर्नुपर्दछ ।' 

महालेखाले निर्वाचन आयोग र मातहत १४९ निकायमा यो वर्ष ३ करोड ५६ लाख ३ हजार बेरुजु देखाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै