• २०८१ असार ३ सोमबार

टिओआर टुंगाउन शिर्ष नेताहरुसहितको बैठक बस्दै

kharibot

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शिर्ष नेताहरुसहितको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ । 

यसअघि शनिबार कार्यदलको बैठक र त्यसपछि शिर्ष नेताहरुको बैठक बसेपनि सहमति हुन सकेको थिएन ।

कार्यदलका सदस्य जीवन परियारका अनुसार शनिबार दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत कार्यदलका सदस्यहरु उपस्थित रहेका थिए ।

बालुवाटारको छलफलमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमै विवाद रहेको बुझिएको छ । बैठकमा कांग्रेसले लामिछानेको नामको विकल्पमा गोर्खा मिडियाको प्रबन्ध निर्देशक उल्लेख गर्नुपर्ने प्रस्ताव गरेपनि सत्ता पक्ष सहमत नभएको परियारले बताए ।

उनले भने- 'सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ । त्यो कुरामा सहमति हुन सकेन ।' 

यस अघि कार्यदलको बैठकमा सत्ता पक्ष ठगि भएका सहकारीको नाम र ऋण लैजाने कम्पनिको नाम उल्लेख गरेर छानबिन अगाडी बढाउन सहमत भएको थियो । 

आजै बिहान ११ बजे प्रतिनिधिसभाको र साढे ११ बजे राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै