• २०८१ असार २ आइतबार

‘वुमन अफ द वर्ल्ड, फेस्टिभल – २०२४’ मा माग लिन उपप्रमुख डंगोल बेलायत प्रस्थान

kharibot

काठमाडौँ । व्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वर्ल्ड, फेस्टिभलमा सहभागी हुन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज वेलायत प्रस्थान गरेकी छन् । उपप्रमुखसँग भ्रमण टोलीमा वडा- २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान रहेका छन् । 

महोत्सव मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुनेछ । भ्रमणको अवधि १० दिनको हुनेछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गर्ने छिन् । उनीहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ । 

वार्षिक रुपमा मनाइने यो महोत्सव स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदान हुन्छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेकी छन् ।

लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । महोत्सवमा सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् । कार्यक्रममा विभिन्न देशबाट राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका वक्ता र सहभागीको जमघट हुनेछ । 

हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् । 

महोत्सवसँगै भ्रमण टोलीले स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा  सहभागी हुनेछ । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुने छ । भ्रमण अवधिमा अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भ्रमण टोली ज्येष्ठ २० गते स्वदेश फर्कनेछ । 

यसप्रकारको भ्रमण र कार्यक्रममा सहभागितापछि आपसी कार्यक्रममा साझेदारिता बढ्ने, क्षमता विकास र सशक्तिकरणका कार्यक्रममा सामुहिक नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ । 

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले गएको वैशाख १० गते  व्रिटिस काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै