• २०८१ असोज ३० बुधबार

राष्ट्रबैंकको रिपोर्ट: १९ खर्ब विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो

kharibot

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १९ खर्ब ११ अर्ब ८६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारसँग १५ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वित्तीय विवरणअनुसार पछिल्लो ९ महिनाको अवधिमा २४.२ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ९ महिनाको अवधिमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । यसले १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै यस अवधिमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्ला आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनाको विवरणमा सो अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ४२२ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन लाख ८७ हजार ८३९ थियो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई लाख १७ हजार ९५९ रहेको थियो ।

समग्रमा पछिल्लो ९ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ४२ हजार १४३ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो नौ महिनामा ६ लाख पाँच हजार ७९८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै