काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ लाई पर्यटकीय स्थल बनाउने भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा रहेको धन्ध्यो चैत्य, चारुमती स्तूपा, भवानीस्थानलगायत नामले परिचित चाबहिलमा रहेको ऐतिहासिक स्तूपालाई पर्यटकीय स्थलको रुपमा बनाउन सुरु गरिएको छ ।
करिब २३ सय वर्षअघि निर्माण गरिएको चाबहिलस्थित धन्ध्यो चैत्य यही आर्थिक वर्ष भित्र नै सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको छ ।
खरीबोटसँग कुरा गर्दै काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध कुमार ढंगोलले ७ नम्बर वडालाई पर्यटकीय स्थलको रुपमा चिनाउन सुरु गरेको जानकारी दिए । उनले भने, ‘काठमाडौँ महानगरपालिका वडा नम्बर ७मा रहेको ऐतिहासिक धन्ध्यो चैत्यलाई हामी नयाँ रुप दिन लागेका छौँ ।”
बौद्धनाथ स्तुपाभन्दा पनि पुरानो मानिने यस चैत्यको निर्माण लागि सहरी विकास तथा भवन निर्माण विभागले १ करोडमा टेण्डर आह्वान गरेको थियो भने ८३ लाखमा टेण्डर परेको थियो । जुन लामपोखरीमा रहेको पिंगलाविहार समेतको निर्माणको लागि हो ।
भवानी स्थानमा ढल निर्माणसहित ढुङ्गा बिच्छाउने र ऐतिहासिक देखिने डाँछि अपा राखेर निर्माण गर्न सुरु गरिएको छ । जुन धन्ध्यो चैत्यदेखि मुसी गणेशसम्म ऐतिहासिक बनाउन लागिएको हो ।
७ नम्बर वडालाई पर्यटकीय स्थलको रुपमा निर्माण गर्न ८ नम्बर वडासँग सहकार्य गरेर द्वारिका होटलमा आउने पर्यटकहरुलाई भण्डारखालमा बस राखेर जय बागेश्वरीको मन्दिर हुँदै घ्याम्पे पाटी, कुटुबहाल हुँदै पिंगला विहार लाने र लामपोखरीबाट गणेश मन्दिर हुँदै धन्ध्यो चैत्य हुँदै चारुमती विहारमा टि ब्रेक गरेर महादेव पार्वतीको पुरानो डाचँ देखाउने सोच रहेको वडा अध्यक्ष डंगोलले बताए ।
घ्याम्पे पाटी, शहिद धर्मभक्तलाई झुण्ड्याएको ठाउँ, कुटुबहाल, पिंगला बिहार, लामपोखरी, गणेश स्थान, धन्ध्यो चैत्य, भीमसेनी स्थान, उमा महेश्वर, बंगलामुखी, कुमारी मन्दिर, कैजु बहाललगायतका ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको यस ७ नम्बर वडामा गंगाहिटी, भैरवहिटी, बा हिटी, भैरव धारा लगायतका ऐतिहासिक धाराहरु समेत यस वडामा रहेका छन् ।
विगतमा धन्ध्यो चैत्यलाई १०४ फण्को मारेर समयबजी वितरण गर्ने र अंपोचा गुठीमा पुरी पकाएर दिने र ह्लासाजाने मान्छेहरु एक रात धन्ध्यो चैत्यमा बास बसी सगुन लिएर जाने प्रचलन समेत थियो ।









