• २०८१ बैशाख १७ सोमबार

खेलकुदमन्त्रीलाई सांसद शाहको प्रश्न- टियु मैदानमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ?

kharibot

काठमाडौं । रास्वपाका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलक्षेत्रका विषयमा प्रश्न गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले टीयूको क्रिकेट ग्राउन्डमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? भन्दै प्रश्न गरेका हुन् । यसका साथै उनले दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो भन्दै पनि प्रश्न गरेका छन् । 

आफ्नै पार्टीबाट खेलकुदमन्त्री बनेका श्रेष्ठलाई प्रश्न गर्दै सांसद शाहले भने, ‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु– दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो ? टियूको क्रिकेट ग्राउन्डमा फ्लडलाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन ।'

आफ्नै पार्टीका मन्त्री भए पनि जनताका प्रश्न निरन्तर उठाउने भन्दै उनले भने, ‘हामी पहिले प्रतिपक्षमा थियौँ । अहिले सत्तापक्षमा छौँ । हाम्रा आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइनै रहन्छौँ । उत्तर दिने ठाउँमा हाम्रा साथीहरू भए पनि निरन्तर हामी खबरदारी गरिरहनेछौँ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै