• २०८१ बैशाख १७ सोमबार

आज प्रधानमन्त्रीले विश्वासको मत लिदै, यस्तो छ अंक गणित

kharibot

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने भएका छन् । आज ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।

तत्कालिन गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संबिधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

अहिले बनेको नयाँ गठबन्धन दलहरु माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने भएसँगै आज प्रधानमन्त्रीले विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । त्यस्तै प्रधानमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, जनमत र लोसपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रतिनिधिसभामा अहिलेको गठबन्धनमा रहेका पाँच दलसँग कुल १५२ मत रहेको छ । जुन बहुमतका लागि पर्याप्त रहेको छ । गठबन्धनमा रहेको एमालेका ७७ सांसद छन् भने माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद रहेका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

त्यस्तै विपक्षी दलहरुसँग कांग्रेसको ८७, राप्रपाको १४, जनमतको ६ र लोसपाको ४ गरी ११ सांसद रहेका छन् ।

प्रतिनिधिसभामा हाल कायम रहेका २७२ सांसद कायम रहेकोमा बहुमतको लागि १३७ मत आवश्यक पर्दछ । हाल नेपाली कांग्रेस र एमालेका एक एक सांसद निलम्बित रहेका छन् भने इलाम-२ का सुबासचन्द्र नेम्वाङको निधनपछि खालि रहेको छ ।
 
  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै