• २०८१ बैशाख १६ आइतबार

नारी दिवसः लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै

kharibot

जानकी (बाँके)।  लैङ्गिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन् ।

एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन् । 

राज्यले लैङ्गिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण एवं एचआइभी एड्ससम्बन्धी नीति र त्यसको कार्यान्वयनको अवस्था र भोलिको सोच’ विषयमा यहाँका सरोकारवालाबीच छलफल भएको थियो । 

मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्जका (लुम्बिनी प्रदेश) को आयोजनामा गरिएको उक्त छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले राज्यले तेस्रोलिङ्गीका लागि रोजगारीको व्यवस्था नगरे यौन व्यवसायको बाटो अपनाउन बाध्य हुने बताए। 

उनले तेस्रोलिङ्गीलाई पनि सम्मानपूर्वक जीवन बाँच्ने अधिकार भएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराए ।

जिल्लास्थित विपन्न तथा गरिब परिवारका लागुऔषध प्रयोगकर्तालाई पुनःस्थापना केन्द्रमा राख्नलाई उपमहानगरले आफैँ लगानी गरी सहयोग गरिरहेको उपप्रमुख राईले बताए । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले महिला सशक्तीरकणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेको बताइन् ।

उनले उपमहानगरका २३ वडामध्ये १८ मा महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम पुगेको जानकारी दिइन् । साथै महिला सशक्तीकरणका लागि पाँच वटा सहकारी संस्था बनाइएको उनको भनाइ छ ।

सेवा दिएरमात्र नहुने भन्दै व्यवस्थालाई उपयोग गर्नतर्फ लाग्न एएचएफ नेपालका ‘कन्ट्री प्रोग्राम म्यानेजर’ दिव्यराज जोशीले बताए ।

उक्त कार्यक्रममा डा सङ्केत रिसालले सरकारले एचआइभी न्यूनीकरण गर्नका लागि ओसिएमसी (अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र) कार्यक्रम लागू गरेको बताए ।

उनका अनुसार बाँकेको भेरी अस्पतालमा उक्त एकद्वार प्रणाली प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । 

भेरी अस्पतालमा आकस्मिक सेवाका रुपमा ओसिएमसी कार्यक्रम सञ्चालन भइरहेको डा रिसालले जानकारी दिए । अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा चिकित्सक, प्रहरी, वकिललगायत सबै सेवा एकै ठाउँबाट दिइँदै आइरहेको उनले बताए । 

पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले झण्डै एक दशक पहिले र अहिले नेपालगञ्जमा तेस्रोलिङ्गीलाई गरिने हिंसामा न्यूनीकरण भएको बताए । विगत एक वर्षयता तेस्रोलिङ्गीलाई शारीरिक हिंसा नभई मानसिक हिंसा भइरहेको उनको भनाइ थियो ।

उनका अनुसार कोभिडको समयमा मानसिक हिंसाका कारण देशैभरि ४३ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रममा सहभागीले बाँकेमा विशेष गरेर लागुपदार्थ सेवनकर्ताका श्रीमती घरेलु हिंसामा सिकार हुन गरेको बताएका थिए । 
 

 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै