• २०८१ बैशाख १७ सोमबार

बाँसबारी जग्गा सरकारीकरण गर्ने निर्णय र मिसिल झिकाउन सर्वोच्चको आदेश

kharibot

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारी करण गर्ने प्रक्रिया सुरु भएपछि त्यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले ‘जग्गा सरकारी करण गर्ने निर्णय र त्यससम्बन्धी मिसिल’ झिकाउन आदेश दिएको छ।

व्यवसायी अरुणकुमार चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले गत १३ गते सर्वोच्चमा निवेदन दिएको थियो। प्रालिले जग्गा सरकारी करण गर्ने प्रक्रिया विरुद्ध रिट दिएको थियो।

त्यही रिटमा सुनवाइ गर्दै सर्वोच्चले शुक्रवार मालपोत कार्यालय डिल्लीबजारले जग्गा फिर्ता ल्याउने विषयमा गरेको निर्णय झिकाउन आदेश दिएको हो ।

मालपोत कार्यालयले माघ २४ गते फुटवेयर प्रालि (हाल सीजी चाँदबाग रेसिडेन्सी प्रालि) को नाममा दर्ता रहेको उक्त जग्गा ‘सरकारका नाममा श्रेस्ता अद्यावधिक गरी ल्याउन’ अरुण चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र लेखेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को पत्रलाई आधारमा मानेर मालपोत कार्यालयले रेसिडेन्सी प्रालिलाई पत्र लेखेको थियो ।

सो पत्र प्राप्त भएपछि अरुण चौधरीको कम्पनीले सीआइबी र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई विपक्षी बनाएर जग्गा सरकारी करण गर्ने प्रक्रिया विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा सुनवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र टंकप्रसाद ढुंगानाको इजलासले सरकारी निर्णय झिकाउन आदेश दिएको हो ।  

छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा सीआइबीले माघ १८ गते सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक अरुणकुमार चौधरी, सञ्जय ठाकुर र तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनाराण सिंह थापालाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ लगत्तै अस्पताल भर्ना भएका थिए ।

सिआइबी उनीहरूलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतमा दोस्रो पटक म्याद थपका लागि गएको थियो । अदालतले ‘तीन दिनभित्र हाजिरी जमानीमा छाडन वा मुद्दा बुझाउनुपर्ने’ भन्ने आदेश दिएपछि सबै जना छुटेका थिए । उनीहरू अदालतको आदेशबाट छुटेपनि उता कारखानाको १० रोपनी जग्गा सरकारी करण गर्न मालपोत कार्यालयले प्रक्रिया अघि बढाएको थियो । यो मुद्दामा सिआइबीले थप अनुसन्धान पनि गरिरहेको छ ।

यस प्रकरणमा दुई दिनभित्रमा अनुसन्धान पूरा गरी अरुणकुमार चौधरीलगायतलाई हाजिरी जमानतमा छाड्न दोस्रो आदेश गर्ने जिल्ला अदालत काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको थियो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै