• २०८१ बैशाख १७ सोमबार

दिमाग कसरी स्वस्थ र तेज बनाउने ?

kharibot

प्रतिनिधि तस्बीर

आज उन्नत प्रविधिका कारण संसार द्रुत रूपमा बदलिंदै छ, जसले हाम्रो दैनिक जीवनमा कैयौं परिवर्तन आएका छन् । हाम्रो दिमाग यी सबै चीजहरूको लागि बनाइएको थिएन जुन हामी आज गर्छौं । तैपनि, हामीले यस आधुनिक संसारमा आफुलाई राम्रोसँग ढालेका छौं र परिवर्तनहरू अनुसार आफूलाई निरन्तर परिवर्तन गरिरहेका छौं ।

यो सबै हाम्रो मस्तिष्कको कारणले सम्भव भएको हो । एउटा अंग जसमा आफैलाई ढाल्ने, सिकाउने र विकास गर्ने ठूलो क्षमता छ ।

प्रश्न उठ्छ कि हामीले यो अद्भुत अंगलाई कसरी स्वस्थ राख्न सक्छौं ? के कुनै उपाय छ जसद्वारा हामी मस्तिष्कको क्षमता बढाउन सक्छौं र यसलाई छिटो बनाउन सक्छौं ?

युनिभर्सिटी अफ सरे, इङ्गल्याण्डका क्लिनिकल मनोविज्ञानका प्रोफेसर थोरस्टेन बर्नहोफरले हाम्रो मस्तिष्कको क्षमतालाई धेरै तरिकाले बढाउन सक्ने बताएका छन् । उनी भन्छन्, 'केही प्रक्रियाहरू छन् जसले तनाव कम गर्छ र केही हप्तामा न्यूरोप्लास्टिकिटीलाई बढावा दिन्छ । न्यूरोप्लास्टिकिटी बढाएर, डिमेन्सिया जस्ता रोगहरूबाट बच्न सकिन्छ र मनोवैज्ञानिक आघातबाट हुने मस्तिष्कको क्षतिलाई पनि कम गर्न सकिन्छ ।'

न्यूरोप्लास्टिकिटी भनेको के हो ?

प्लास्टिसिटी भनेको बाहिरबाट आउने जानकारीको आधारमा हाम्रो मस्तिष्कले आफैलाई परिवर्तन गर्ने क्षमता हो । न्यूरोप्लास्टिकिटी भनेको हाम्रो मस्तिष्कमा रहेको नर्भ सेल पनि भनिने न्युरोन्समा बन्ने र परिवर्तन हुने सम्बन्ध हो ।

हाम्रो मस्तिष्क एक न्यूरल वायरिङ सिस्टम हो । मस्तिष्कमा अरबौं न्यूरोन्सहरू छन् । आँखा, कान, नाक, मुख र छाला जस्ता हाम्रा ज्ञानेन्द्रियहरूले मस्तिष्कमा बाहिरी सूचनाहरू पुर्‍याउँछन् । यो जानकारी न्यूरोन्स बीच जडानहरू गठन गरेर भण्डारण गरिन्छ ।

जब हामी जन्मन्छौं यी न्यूरोन्सहरू धेरै कम जडान हुन्छन् । रिफ्लेक्स जडानहरू पहिले नै ठाउँमा छन्, जस्तै तातो वस्तुको सम्पर्कमा आउँदा बच्चाको हात फिर्ता लिने । तर उसले सर्पलाई मुखमा हाल्छ किनभने उसको दिमागमा सर्प खतरनाक हुन सक्छ भन्ने सम्बन्ध बनाइएको छैन । त्यसपछि ऊ सिक्दै जान्छ र तंत्रिका जडानहरू बनिरहन्छ ।

यी जडानहरू पनि नयाँ अनुभवसँगै परिवर्तन हुन्छन् । यो सम्पूर्ण प्रक्रियालाई न्यूरोप्लास्टिकिटी भनिन्छ । यो मानव सिक्ने, अनुभवहरू सिर्जना गर्ने र सम्झनाहरू भण्डारण गर्ने प्रक्रिया हो ।

न्यूरोप्लास्टिकिटी कसरी बढाउन सकिन्छ ?

प्रोफेसर थोरस्टेन बर्नहोफर भन्छन् कि दिमाग घुमाउँदा तनाव बढ्छ । बारम्बार एउटै कुराको चिन्ता गर्नु हानिकारक हुने कारणले कोर्टिसोल हर्मोनको स्तर बढ्ने उनको भनाइ छ । यो हर्मोन मस्तिष्कको लागि हानिकारक छ र न्यूरोप्लास्टिकिटीको लागि अवरोधहरू सिर्जना गर्दछ । यसबाट बच्ने उपाय भनेको सजगता हो । माइन्डफुलनेस भनेको तपाईको वरपरको परिवेश, तपाईको विचार र तपाईको संवेदी अंगहरू (आँखा, कान, नाक, मुख, छाला) बारे सचेत हुनु हो । 

मनोवैज्ञानिकका अनुसार सरल भाषामा बुझ्ने हो भने, माइन्डफुलनेस भनेको हाम्रो ज्ञानेन्द्रियहरूबाट बाहिरबाट दिमागमा के-कस्ता सूचनाहरू आउँदैछ र भित्र रहेको जानकारी कसरी प्रयोग भइरहेको छ भन्ने कुराको जानकारी हुनु हो ।

हालै यो खुलासा भएको छ कि न्यूरोप्लास्टिकिटीको प्रक्रियामा मस्तिष्कको संरचना पनि परिवर्तन हुन्छ ।  अघिल्लो र नयाँ स्क्यानहरू तुलना गरेपछि, प्रोफेसर बार्नहोफरले मेलिसाको मस्तिष्कमा छ हप्तामा न्यूरोप्लास्टिकिटी बढेको बताए ।

व्यायाम पनि उपयोगी

मस्तिष्कमा न्यूरोप्लास्टिकिटी बढाउन व्यायामले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । इटालीको ‘सेन्ट्रो न्युरोलेसी’ इन्स्टिच्युटका निर्देशक प्रोफेसर एन्जेलो क्वाट्रोनका अनुसार दिनमा ३० मिनेट र हप्तामा चारदेखि पाँच दिन व्यायाम गरिएमा यसले मस्तिष्कमा राम्रो प्रभाव पार्छ ।

युनिभर्सिटी अफ ससेक्सका तुलनात्मक अनुभूतिका प्रोफेसर गिलियन फोरेस्टरले मस्तिष्कमा हुने गतिविधि र परिवर्तनहरू शारीरिक गतिविधिसँग नजिकको सम्बन्ध रहेको बताए ।

उनी भन्छिन्, ‘कसैलाई बोल्न गाह्रो भएमा हातको इशाराले बोल्दा सहयोग गर्छ भन्ने हामीले देखेका छौं । वास्तवमा, हाम्रो मस्तिष्कको जुन भागले बोल्न मद्दत गर्दछ त्यो भागसँग जोडिएको हुन्छ जसले मोटर निपुणतामा मद्दत गर्दछ अर्थात् हात, खुट्टा वा हातको मद्दतले काम गर्न मद्दत गर्ने भागसँग । हुनसक्छ यस्तो भएको हो किनभने भाषा इशाराहरू मार्फत विकसित भएको थियो ।'

लन्डन विश्वविद्यालयको बर्कबेकको स्कूल अफ साइकोलोजीका डा ओरी ओस्मी ध्यान बाहेक शारीरिक व्यायामले पनि तनाव कम गर्ने बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रो मस्तिष्कले सधैं परिवर्तन गरिरहेको हुन्छ । तर यो प्रक्रिया बच्चाहरु मा छिटो हुन्छ । सामान्य स्तरमा हात र खुट्टा चलाउने बच्चाहरूले पछि राम्रोसँग बोल्न सक्छन् भन्ने देखियो। तर त्यसो नगर्नेहरूमध्ये केहीलाई पछि बोल्न वा सामाजिक व्यवहारमा समस्या हुन सक्छ ।'

व्यायाम मात्र होइन, संगीत वा भाषा सिक्ने जस्ता कुनै पनि नयाँ कामले न्यूरोप्लास्टिकिटी बढाउन सक्छ किनभने जब हामीले नयाँ कुरा देख्छौं, सिक्न सक्छौं वा सोच्छौं, मस्तिष्कमा नयाँ न्यूरल जडानहरू बन्छन् ।

मानव मस्तिष्कले जीवनभर स्नायु जडान गर्न सक्छ । तपाईं ८० वर्षको उमेरमा पनि नयाँ भाषा सिक्न सक्नुहुन्छ । नयाँ ठाउँमा जानु, दिनचर्या तोड्नु र केहि नयाँ प्रयास गर्नुका धेरै फाइदाहरू छन् । हामीले उसलाई नयाँ अनुभव दिईरहनुपर्छ ।

- बिबिसी हिन्दीबाट
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै