• २०८१ बैशाख १५ शनिबार

एम्बाप्पेले पिएसजी छोड्दै

kharibot

काठमाडौँ । फ्रेन्च सुपरस्टार फुटबलर किलीयन एम्बाप्पेले अन्तत: पिएसजी छोड्ने भएका छन् ।

यसै बर्षको जुनमा पिएसजीमा सम्झौता सकिन लागेका एम्बाप्पेले पिएसजी व्यवस्थापनलाई आफु अर्को सिजन क्लबमा नरहने जानकारी गराएका हुन् । मिडिया रिपोर्टका अनुसार एम्बाप्पे अब नि: शुल्क रुपमा अर्को क्लबमा जान सक्ने छन् ।

साथै एम्बाप्पेले पिएसजीबाट कुनै किसिमको काउन्टर अफर आफुले नचाहेको पनि स्पष्ट गरेका छन् ।

एम्बाप्पेले पिएसजी छोड्ने निश्चित भएसँगै अब उनी कुन क्लब जान्छन भन्ने स्पष्ट भएको छैन । यस अघि रियल म्याड्रिडले उनलाई भित्र्याउने निश्चित जस्तै भएको भए पनि यो विषय अझै टुंगिएको भने छैन ।

रिपोर्टका अनुसार एम्बाप्पेलाई रियलले निकै कम पारिश्रमिक प्रस्ताव गरेपछि यो विषय अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । एम्बाप्पेले पिएसजीमा पाउने बार्षिक पारिश्रमिक करिब २७ मिलियन डलर तिर्न रियल म्याड्रिड इच्छुक नदेखिएको बताइएको छ । तर रियल म्याड्रिडले एम्बाप्पेलाई क्लबमा सबै भन्दा बढी पारिश्रमिक लिने खेलाडी भने बनाउने प्रस्ताव गरेको छ । रियल म्याड्रिडमा अहिले सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीमा भिनिसियस जुनियर र जुड़े बेलिंघम रहेका छन् । उनीहरुले करिब १३ मिलियन डलर बार्षिक पारिश्रमिक लिने गर्दछन् । 

साथै साइनिंग एमाउन्टको रुपमा रियलले एम्बाप्पेलाई करिब १०७ मिलियन डलर तिर्न भने तयार भएको छ । 

यसअघि पिएसजीले एम्बाप्पेलाई दुई बर्षका लागि करिब ८८ मिलियन डलर दिने प्रस्ताव गरेको थियो, जसलाई उनले अस्वीकार गरेका छन् । त्यस्तै गत बर्षनै एम्बाप्पेलाई साउदी क्लब अल हिलालले ३२५ मिलियन डलर भन्दा बढीको अफर दिएको थियो ।

एम्बाप्पे २०१७ मा मोनाकोबाट पिएसजीमा लोनमा आएका थिए । पछि पिएसजीले एम्बाप्पेलाई किन्नको लागि करिब १९५ मिलियन डलर खर्च गरेको थियो । उनले पिएसजीमा अहिलेसम्म २९० खेल खेल्दै २४३ गोल गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै