काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिटेन्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टमा आयातमा आएको कमी र रेमिट्यान्समा भएको वृद्धिका कारण सोधनान्तर बचतको स्थिति र वैदेशिक मुद्रा सञ्चिति बढेको देखिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा आयात ३.१ प्रतिशतले कमी आई ७ खर्ब ६८ अर्ब १७ करोडमा खुम्चेको छ । पुस मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ ।
विदेश पढ्न जानेहरूबाट भने चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको तुलनामा २३ अर्ब बढी रकम बाहिरिएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म ३५ अर्ब ३६ करोड बाहिरिएकोमा ५८ अर्ब ९५ करोड बाहिरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा न्यून मात्रै बढेको देखिएको छ । गत वर्षको पुससम्म १ खर्ब ३७ अर्ब ३३ करोडले बढेको कर्जा यो वर्षको सोही अवधिमा १ खर्ब ९२ अर्ब ६४ करोडले बढेको छ ।
२०८० पुस मसान्तसम्म सरकारका विभिन्न खातामा २ खर्ब ३६ अर्ब ७१ करोड नगद मौज्दात रहेको देखिएको छ । महँगी भने केही घटेको देखिएको छ । २०८० पुस महिनामा मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव २६ प्रतिशत रहेको थियो ।