• २०८१ बैशाख १७ सोमबार

सुदूरपश्चिम प्रदेशको राजधानी दिपायलमा बनाउन माग

kharibot

धनगढी । डोटीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै ओलीले सन्तुलित विकासका लागि सबै जिल्लाको पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग गरेका हुन्। सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको आरोपसमेत उनले लगाएका छन् ।

उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।

आजको प्रदेश सभा बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सदनमा विधेयक टेबुल गरेका थिए। प्रदेश र सङ्घको विपद् व्यवस्थापन सम्बन्धी ऐनबिच देखिएको अन्तर कम गर्न र भाषिक शुद्धताका लागि संशोधन विधेयक ल्याएको उनले बताए । 

आज बसेको प्रदेश सभा बैठकमा शून्य समयमा जानकी ऐर बम, प्रकाशबहादुर बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा कार्कीले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै