• २०८१ बैशाख १५ शनिबार

महोत्तरीमा लोपोन्मुख पंक्षी गिद्धको ठूलो बासस्थान फेला

kharibot

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो ।

शनिबार बर्दिवास उधोग बाणिज्य संघले आयोजना गरेको पदयात्रामा सहभागीहरुले उक्त बासस्थानको अवलोकन गरेका छन् ।

एक अध्ययनअनुसार  सन् १९८० ताका नेपालमा ५ देखि १० लाखको सङ्ख्यामा गिद्धहरू रहेको थिए तर  २००५ देखि २०११ सम्मको तथ्याङ्कले गिद्धको सङ्ख्या ९० प्रतिशतभन्दा पनि बढिले घटेको देखाएको थियो । यसैलाई आधार मान्ने हो भने नेपालमा यसको संख्या निक्कै न्यून छ ।

तर, राईमन्डल वरपर भिमडाडा, सोलीघोप्टे, सेतोभीर जस्ता ठाउँमा  देखिएका हजारौ गिद्धहरुको दृश्यले  ठुलो बासस्थान रहेको अनुमान गरिएको छ । पदयात्रामा सहभागीहरुले स्थानीय सरकारले तत्काल गिद्ध संरक्षण क्षेत्र घोषणा गरेर पर्यटकीय केन्द्रकोरुपमा विकास गर्नुपर्ने धारणा राखे ।

नेपालका केही ठाँउहरुमा गिद्धको प्रजनन केन्द्र र गिद्ध रेस्टुरेन्ट समेत खोलेर यस्को संरक्षणको लागी  सफल अभ्यासहरु भएको बताउँदै स्थानीय लोसपाका नेता चेत कुमार थापा राईमन्डल गिद्ध अध्ययन केन्द्र बन्न सक्ने महत्वपूर्ण आधार भएको बताउँछन् ।  

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९-२०१३’ को सफल कार्यान्वयन पश्चात नयाँ कार्ययोजना -सन् २०१५-२०१९) लागू गरिएको थियो । यसको लागी स्थानीय सरकार संघ र प्रदेश सरकारसँग नजिक भएर काम गरे राईमन्डल पर्यटकीय केंन्द्रकोरुपमा समेत विकास हुन सक्ने कतिपय विज्ञहरुको सुझाव छ ।

राईमन्डल र भप्सी वरपर वस्ने स्थानीय बासिन्दाहरु विहानको समयमा हजारौको संख्यामा गिद्धहरु आकाशमा देखिने बताउँछन्। 'दुईदेखि तीन प्रकारका गिद्धहरु आकाशमा बाक्लै देखिन्छन्, ' स्थानीय बल बहादुरले भने, 'विशेषगरी सेतोभीर वरपर नै उनीहरुको बासस्थान रहेको देखिन्छ ।'

यो पंक्षी सिकारी पंक्षी भए पनि आफै सिकार गर्दैन । मरेका सिनो र बासी मासुहरू आहारा वनाउने गर्दछ । बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको विज्ञहरु बताउँछन् ।

धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदायले त आफन्तको शव गिद्धलाई खुवाउदा मृतकको आत्मालाई स्वर्ग पुराउने दूतकारुपमा लिने गर्दछन । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक त हो नै समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहरकोरुपमा पनि लिइन्छ ।

त्यसैले राईमन्डललाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरी स्थानीय सरकारले यसलाई पर्यटन विकास केन्द्रकोरुपमा विकास गर्नुपर्ने उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका बताउँछन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले राइमंडलमा देखिएको गिद्धको बासस्थानको ध्यानाकर्षण जनाएका छन् । सरोकारवालाहरुसँग छलफल अगाडि बढाएर यस क्षेत्रको संरक्षणको लागी कार्ययोजना बनाउने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै