• २०८१ बैशाख १८ मंगलबार

पञ्चेश्वर परियोजना ‘ब्रेक थ्रु’को विन्दुमा पुग्यो- मन्त्री साउद

kharibot

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन् । 

नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन  (डीपीआर) को काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रु हुने बताएका हुन् । 

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिङ्गो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो । पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पुर्याउने मन्त्री साउदले विश्वास व्यक्त गरे । उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णाली विद्युत् परियोजना अगाडि बढाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या घट्ने बताए ।

मन्त्री साउदले इजरायलमा बिद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताए । “विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”, उनले भने, “मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उनले दोस्रो युद्धविरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे ।

“कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ । दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ”, उनले भने, “पहिलो चरणमा महिला र बालबालिका प्राथमिकतामा परेका र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ । विपिन सुरक्षित हुनुहुन्छ । उहाँ चाँडै रिहा हुनुहुनेछ ।”

मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरु नेपाल सरकारको अनुमति लिएर त्यहाँ भर्ती नभएको स्पष्ट पारे । उनले विद्यार्थी भिसा, भिजिट भिसालगायतमा रुस पुगेका त्यहाँको सेनामा भर्ती भएको बताए । रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ शव अहिले त्यहाँको शवगृहमा राखिएको मन्त्री साउदले जानकारी दिए ।

शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको मन्त्री साउदको भनाइ छ । उनले भने, “त्यसबाहेक एक सय ३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेको र जोखिममा परेका भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय