• २०८१ बैशाख १७ सोमबार

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच छलफल

kharibot

कास्की । यातायात व्यवस्था कार्यालय कास्कीमा सवारी साधनको विद्युुतीय अभिलेखीकरण गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाउने लक्ष्यसहित यसको सुरुआत गरेको हो ।  

यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर सुरुआतमा परीक्षणका रुपमा विद्युुतीय अभिलेखीकरण गरिएको हो । अभिलेखीकरणपछि फाइल र ढड्डा खोज्दा समयको बचत, जनशक्तिलाई कामको भार कम र कार्यालय व्यवस्थित बनेको छ । गण्डकीमा यातायात मन्त्रालयले सुरु गरेको अन्य सुधारका कार्यका बारेमा आज बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयको टोलीले पोखरामा जानकारी लिएको छ ।

बागमतीका यातायातमन्त्री लक्ष्मण लम्साल, मन्त्रालयका सचिव बलराम निरौला, यातायात महाशाखा तथा यातायात कार्यालयका प्रमुखसहितको  टोलीले गण्डकीमा यातायात क्षेत्रको सुधारका लागि चालिएका कदमका बारेमा जानकारी लिएको हो । गण्डकीको यातायात मन्त्रालयले यातायात कार्यालयका सेवालाई सवारी कर अनलाइनबाटनै भुक्तानीको व्यवस्था, यातायात कार्यालय बिहान आठ बजेदेखी सञ्चालन तथा पोखरा उपत्यकामा मिटरमा ट्याक्सीलाई अनिवार्य गर्ने लगायतका सुधारका काम थालेको छ ।

मन्त्रालयमा भएको छलफलमा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले यातायात कार्यालयको सेवा प्रवाह सुधारका लागि गरिएका कामका बारेमा जानकारी गराएका थिए । उनले प्रदेशमा परीक्षणका रुपमा यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका पुराना सबै फाइल र ढड्डालाई विस्थापित गरी विद्युतीय अभिलेखीकरण  गरिएको र यसबाट सेवाग्राहीले झन्झटरहित रुपमा छिटो सेवा पाएको बताए । 

सवारी साधनको विवरणलाई विद्युतीय अभिलेख राख्ने कार्यलाई प्रदेशका अन्य जिल्लामा विस्तारको योजना रहेको मन्त्री जुग्जालीले जानकारी दिएका थिए । “ठूलो सङ्ख्यामा रहेका ढड्डा र फाइलका कारण चाहिएको बेलामा फेला पार्न नसकिने, च्यातिने तथा हराउने समस्या थियो । अहिले सबै फाइललाई स्क्यानिङ गरी कम्प्युटरमा राख्ने काम कास्कीको यातायात कार्यालयबाट थालनी गरेका छौँ”, उनले भने, “यसबाट कार्यालयको सेवा छिटो र चुस्त भएको छ । सेवाग्राहीको समय बचत भएको छ ।”

छलफलमा यातायात क्षेत्रको सुधारका लागि दुई प्रदेशले संयुक्त रुपमा गर्न सकिने कामका बारेमा समेत छलफल भएको थियो । बागमतीका यातायातमन्त्री लम्सालले यातायातका फाइल ‘डिजिट लाइज’ गर्ने कार्यलाई बागमतीले प्राथमिकतामा राखेको बताए । गण्डकीको अनुभव र यसका लागि गरिएका प्रक्रियालाई अनुशरण गरी आफ्नो प्रदेशमा कार्यान्वयन गर्ने योजना रहेको उनले सुनाए । 

बागमतीको टोलीले कास्कीको यातायात व्यवस्था कार्यालय सवारी र सवारी चालक अनुमतिपत्र दुवै कार्यालय, ट्रायल सेन्टरलगायतको अवलोकन गरी जानकारी लिएको थियो । सो अवसरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले यातायातका फाइल विद्युतीय अभिलेखीकरण प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै