• २०८१ बैशाख १५ शनिबार

वरिष्ठ पत्रकार पोखरेलको निधन

kharibot

काठमाडौँ। वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आज निधन भएको छ ।

नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई) का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष हुनुभएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका) का संस्थापक प्रधानसम्पादक पनि थिए ।

गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । पत्रकारितामा स्नातकोत्तर र अङ्ग्रेजी साहित्यमा पनि दखल राख्नुहुने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौँ उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका लागि जनचेतना जगाउन जोड दिएका थिए ।

धनकुटाको कोचिण्डेमा विसं १९९३ मा जन्मनुभएका पोखरेल काठमाडौँ बस्दै आएका थिए ।

एनपिआईका कार्यसमिति सदस्य कपिल काफ्लेका अनुसार पोखरेलको आज बिहान १०ः३० बजे निधन भएको हो । उनले पोखरेल नेपाली पत्रकारिताका धरोहर रहेका बताए ।

पोखरेलका छोरा अष्ट्रेलियाबाट आएपछि पार्थिव शरीरलाई मङ्गलबार बिहान अन्त्येष्टि गरिने जनाइएको छ । दिवङ्गत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै