• २०८१ बैशाख १७ सोमबार

नभाल्नी ‘जबर्जस्ती बेपत्ता हुनु’ ले संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ चिन्तित

kharibot

जेनेभा । संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उनलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गरेका छन् । 

क्रेमलिनका आलोचक नभाल्नीका वकिलहरूलाई डिसेम्बर ६ देखि उनीसँग भेट्न रोकिएको छ । साथै गत शुक्रबारको निर्धारित अदालतको सुनुवाइका लागि उनी उपस्थित भएनन् ।  “रुसी अधिकारीहरूले यति लामो समयसम्म नभाल्नीको ठेगाना र स्वास्थ्यबारे सार्वजनिक नगरेकामा मलाई धेरै चिन्ता भएको छ, यो जबरजस्ती बेपत्ता पारिएको समान हो”, रुसमा राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी विशेष  प्रतिवेदक मारियाना काटजारोभाले भनिन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि काँडा बन्नुभएका ४७ वर्षीय नभाल्नीलाई विष दिएर हत्याको प्रयासमा बाँचेपछि सन् २०२१ मा चरमपन्थीको आरोपमा १९ वर्षको कारागार सजाय दिइएको थियो । 

नभाल्नीलाई डिसेम्बर ११ मा मस्को नजिकैको भ्लादिमिर क्षेत्रबाट हटाएर अज्ञात स्थलमा लगिएको जानकारी नभाल्नीको टोलीलाई शुक्रबार बताइएपछि आफूले रुसी अधिकारीहरूसमक्ष चिन्ता व्यक्त गरेको काटजारोभाले बताए । उनका अनुसार नभाल्नीका परिवार र वकिलहरूले सबै दण्डित कोलोनीलाई उनको ठेगाना पहिचान गर्न पत्र पठाएका थिए । 

“नभाल्नी ओम्स्क दण्डित कोलोनीमा हुनसक्ने उनीहरूलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ तर पछि त्यो जानकारी अस्वीकार गरियो”, उनले भनिन् । यस वर्षको प्रारम्भमा एक अदालतले नभाल्नीलाई कठोर कारागारमा सार्ने आदेश दिएको थियो ।

नभाल्नीलाई दोषी ठहर गर्ने चरमपन्थीका आरोपहरू ‘निराधार’ रहेको भन्दै काटजारोभाले बन्दीहरूले यातायातका क्रममा गम्भीर अधिकार उल्लङ्घनको उच्च जोखिमको सामना गर्ने चेतावनी दिइन् । राष्ट्रसङ्घीय परिषद्बाट नियुक्त भए पनि राष्ट्रसङ्घका तर्फबाट नबोलेकी स्वतन्त्र विशेषज्ञ उनले ‘अतिवाद’ शब्दको अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएकामा जोड दिइन् । “जब यसले आपराधिक दायित्व उत्पन्न गर्छ तब यो मानवअधिकारको उल्लङ्घ हो ”, उनले भनिन् । 

उनको विज्ञप्तिमा ‘नभाल्नीको अविश्वसनीय आपराधिक उत्पीडन’ को निन्दा गरिएको छ । यसको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा गरिएको छ र यसले राजनीतिक उद्देश्यका लागि अदालत प्रणालीको स्पष्ट दुरुपयोगलाई सङ्केत गर्दछ ।

काटजारोभाका अनुसार नभाल्नीका तीन वकिललाई अक्टोबरमा चरमपन्थीको आरोपमा गिरफ्तार गरिएको भन्दै अब उनीहरूले लामो समयसम्म कारागारको सजाय भोग्नुपर्ने बताइन् । “म रुसी अधिकारीहरूसँग अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरूको पालना गर्नका लागि आह्वान गर्दछु”, उनले भनिन्, “नभाल्नी र मनमानी ढङ्गले हिरासतमा लिइएका सबैलाई तत्काल रिहा गरिनुपर्छ र उनीहरूलाई भएको सबै नोक्सानका लागि उपचार र क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै